त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

सफल खबर संवाददाता

विहीबार, १९ माघ २०७९, ११ : ५१
त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

काठमाडौँ । एक जना क्यानडाका नागरिक सुनसहित पक्राउ परेका छन् । ९ किलोभन्दा बढी सुन बोकेर नेपाल आएका क्यानडेली नागरिक मोहमद कमल मोहगोब त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।

मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । उनी दुबईबाट सुन लिएर काठमाडौँ आएको जनाइएको छ । उनको साथबाट ९ किलो १३५ ग्राम सुन बरामद गरिएको छ, जुन अवैध रहेको भन्सार कार्यालयले जनाएको छ ।

उक्त सुन काठमाडौँ हुँदै भारत लैजान लागिएको आशंका गरिएको छ । मोहगोबले चेस्ट गार्डजस्ताे ब्याग भिरेर त्यसभित्र ८ वटा बिस्कुटजस्ता पाेका बनाइ सुन प्याक गरेर छिपाएर ल्याइएका थिए । उक्त वस्तु शंकास्पद लागेर जाँच गर्दा सुन भएको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

बरामद गरिएकाे सुनकाे मूल्य करिब रू ८ करोड २० लाख हुन्छ । पक्राउपछि प्रारम्भिक बयानका क्रममा उनले नेपालमा सुन ल्याउनु गैरकानुनी रहेकाे कुरा आफूलाई थाहा नभएको बताएका छन् । उनीसँग क्यानडेली राहदानी भए पनि उनको जन्म दुबईमा नै भएको बताइएको छ । हाल उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस