खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : मन्त्री पौड्याल

सफल खबर संवाददाता

शुक्रबार, १३ माघ २०७९, २१ : ४२
खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : मन्त्री पौड्याल

काठमाडौं । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले खाद्य सङ्कट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताएकी छन्। गैरसरकारी संस्था महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको विश्वव्यापी भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स) रिर्पोट, २०२२ सार्वजनिक तथा छलफल कार्यक्रममा उनले मुलुकमा रहेको भौगोलिक र जातीय विविधता तथा मौलिक सीपलाई कृषि उत्पादन र उपभोगमा अवसरका रुपमा उपयोग गर्नुपर्नेमा जोड दिइन्।

खाद्य गहन विषय भएको र यो वर्गीय, सामाजिक, जातीयलगायत पहिचानसँग गासिएको उल्लेख गर्दै मन्त्री पौडेलले खाद्य उत्पादनसँगै वितरण, आपूर्ति र पहुँचको विषय महत्वपूर्ण हुने उल्लेख गरिन्। अन्तर्राष्ट्रिय प्रभाव र मूल्य वृद्धिले खाद्य वितरण र आपूर्तिमा चुनौती थपेको बताउँदै उनले नेपालमा थोरै भए पनि यस विषयमा प्रगति भएको बताइन्। पछिल्लो समय बजारमा स्थानीय खाद्यभन्दा आयातित खाद्य वस्तुको प्रवेशले खाद्य सुरक्षामा समस्या उत्पन्न भएको धारणा व्यक्त गर्दै उनले स्थानीय खाद्य सामग्रीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा ‘नारमिन’ का महासचिव खीमबहादुर थापा, राष्ट्रिय किसान आयोगका सदस्य जीवन्ती पौडेल, महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीलगायतले खाद्य सुरक्षा विषय र समाधानका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेकी थिइन्। कार्यक्रममा सरोकारवाला विज्ञ सम्मिलित समूहगत छलफल हुनुका साथै नेपालको खाद्य सुरक्षा र अधिकारको अवस्थाका बारेमा विभिन्न प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस