इंग्लिस प्रिमियर लिग: सिटीको जितमा हालान्डको ह्याट्रिक

एजेन्सी

सोमबार, ०९ माघ २०७९, ०६ : २२
इंग्लिस प्रिमियर लिग: सिटीको जितमा हालान्डको ह्याट्रिक

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा  उपाधि होडमा कायमै रहन पनि जित्नै पर्ने खेलमा म्यानचेस्टर सिटीले वल्भेसलाई ३-० ले पराजित गरेको छ।

आइतबार राति सिटीको घरेलु मैदानमा भएको खेलमा  सबै तीन गोल अर्लिङ हालान्डको नाममा रह्यो।

हालान्डले सिटीका लागि चौंथो ह्याट्रिक गरेको खेलमा उनले सिजनमा ३१ गोल पुरा गरेका छन्।हालान्ड चम्किदा रेलिगेसन जोनमा संघर्षरत रहेको वल्भेस भने गोलविहीन रह्यो।

हालान्डले ४० औ मिनेटमा केभिन डि ब्रुएनाको पासलाई सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीका लागि हालान्डलेनै ५० औ मिनेटमा पेनाल्टी मार्फत  अग्रता दोब्बर बनाए। 

गुन्डुगानलाई वल्भेसका रुवेन नेभिसले फल गरेपछि पाएको पेनाल्टीलाई हालान्डले सदुपयोग गरेका थिए। उनले तेस्रो गोल रियाद महारेजको पासमा ५४ औ मिनेटमा सम्भव बनाए।

हालान्डले २० प्रिमियर लिगमा २५ गोल गरिसकेका छन्। उनले करिब आधा सिजनको खेलमै गोल्डेन बुट तय गरेका हुन्। १९९२ यता उनी यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी समेत हुन्।