ट्राफिक प्रहरीमा चालक-परिचालकबाट यात्रुमाथि दुर्व्यवहारका १४८ वटा गुनासो

सफल खबर संवाददाता

शुक्रबार, ०६ माघ २०७९, ०९ : ५६
ट्राफिक प्रहरीमा चालक-परिचालकबाट यात्रुमाथि दुर्व्यवहारका १४८ वटा गुनासो

काठमाडौँ । चालक तथा परिचालकको व्यवहार सुधारको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रम संचालन गर्दै आएको छ ।

सार्वजनिक सवारी साधनमा यात्रुमाथि चालक(परिचालकबाट दुर्व्यवहार भएको भनी गुनासो बढेसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रम संचालन गरेको हो । उपत्यकामा संचालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालकले दुर्व्यवहार गरेको भन्दै ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको ६ महिनामा १४८ वटा गुनासा प्राप्त भएका छन् ।

यात्रुका गुनासालाई मध्यनजर गरी गत पुस महिनामा संचालन गरिएको सचेतना कार्यक्रममा मात्रै २,३२१ जना चालक तथा परिचालक सहभागी भएका थिए ।  चालक, परिचालकको आचरण तथा व्यवहार सुधारका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघमा पत्राचार समेत गरिएको काठमाडौँ  उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

सार्वजनिक सवारी साधनमा सम्मानजनक यात्रा गर्न पाउनु यात्रुको नैसर्गिक अधिकार भएकाले सभ्य व्यवहार गरी यात्रा गर्न र गराउन चालक तथा परिचालकलाई  प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध समेत गरे ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय सहित काठमाडौँ उपत्यकाका विभिन्न स्थान र यातायात व्यवसायी संघसस्थाका कार्यालयहरूमा चालक तथा परिचालकहरूका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस