प्रहरीका उच्च अधिकारीलाई प्रभावकारी काम गर्न महानिरीक्षक सिंहको निर्देशन

सफल खबर संवाददाता

सोमबार, ०२ माघ २०७९, १४ : २०
प्रहरीका उच्च अधिकारीलाई प्रभावकारी काम गर्न महानिरीक्षक सिंहको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरज प्रताप सिंहले सरुवा भएर कार्यक्षेत्र जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन ।

सोमबार प्रहरी प्रधान कार्यालयमा उनले जघन्य अपराध अनुसन्धानमा केन्द्रित भएर काम गर्न निर्देशन दिएका हुन । सिंहले फरार अभियुक्तलाई नियन्त्रणमा लिन र पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।

आर्थिक पारदर्शीताको नीति अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह आग्रह गर्दै आईजीपी सिंहले योग्यताको आधारमा जिम्मेवारी दिइएकाले उत्कृष्ट रूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखेको बताए ।

मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा सिंहले जोड दिए। प्रहरी महानिरीक्षक सिंहले तालिम केन्द्रहरू पहिलेको भन्दा परिस्कृत भएको, पूर्वाधारहरू विकास भएको र आगामी दिनमा स्मार्ट मोडलको रूपमा जाने बताएका छन । 

तालिम केन्द्रका प्रमुखको रूपमा खटिने प्रहरी अधिकृतहरूले प्रशिक्षार्थीलाई थप दक्ष बनाउन आवश्यक कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस