इङ्लिस प्रिमियर लिग : सिटी क्वार्टरफाइनलबाटै बाहिरियो

एजेन्सी

विहीबार, २८ पुस २०७९, ०९ : १३
इङ्लिस प्रिमियर लिग : सिटी क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौं । इङ्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी बुधबार राति साउथह्याम्पटनसँग अप्रत्यासित रुपमा २–० ले पराजित भएपछि लिग कपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

प्रिमियर लिगमा अंक तालिकाको पुछारमा रहेको साउथह्याम्प्टनले दुवै गोल पहिलो हाफमा गरेको थियो । सेकोउ माराले २३औँ मिनेटमा गरेको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । त्यसको पाँच मिनेट वित्न नपाउँदै मोसा जेनेपोले अग्रता दोब्बर बनाएका थिए । 

सिटीले २०१४ यता ६ पटक लिग कपको उपाधि उचालेको छ । तर, गएराति पहिलो हाफमा दुई शून्यले पछि परेपछि सिटी खेलमा फर्कन सकेन । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मुख्य खेलाडी इर्लिङ ब्राउट हालान्ड र केभिन डी ब्रुयनालाई मैदान छिराए पनि सिटीको गोल फर्काउन सकेन । 

‘‘आजको रात विशेष रह्यो । लिगका संघर्ष गरिरहेको बेला यो खेल हाम्रो लागि विशेष थियो । हामीलाई थाहा थियो, यो लिगभन्दा फरक खेल हो । टिमले विना डर उत्कृष्ट प्रदर्शन गर्यो,’’ साउथह्याम्पटनका कप्तान जेम्स वार्ड–प्रोउजले भने, ‘‘लिगमा हामी जुन स्थानमा छौँ । त्यो अवस्थामा खेल्न सँधै कठिन हुन्छ । आज हामीले फरक जोशका साथ खेल्यौँ र जितका हकदार पनि थियौँ ।’’

सिटीले यसअघि आइतबार एफए कपमा प्रिमियर लिगकै प्रतिद्वन्द्वी चेल्सीलाई ४–० ले हराएको थियो । तर, लिग कपमा भने त्यो प्रदर्शन दोहरिएन । सिटीले अब लिगमा शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । 

विजयी साउथह्याम्पटनले अब सेमिफाइनलमा न्युक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । न्युक्यासलले गएराति लेस्टर सिटीलाई २–० ले हराएको थियो । 

लिग कपमै गएराति सम्पन्न अर्को खेलमा नटिङ्घम फरेष्टले उल्भरह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । नटिङ्घम फरेष्टले अब सेमिफाइनलमा युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस