इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीको पहिलो जित

सफल खबर संवाददाता

शनिबार, ०७ भदौ २०८२, ०८ : ५३
इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीको पहिलो जित

एजेन्सी । वेस्ट ह्याम युनाइटेडलाई हराउँदै चेल्सीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जित दर्ता गरेको छ। 

शुक्रबार राति लन्डन स्टेडियममा भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई ५–१ को फराकिलो अन्तरले हराएको हो। 

चेल्सीको पहिलो जितमा जोआओ पेड्रो, पेड्रो नेटो, एन्जो फर्नान्डेज, मोइसेस काइसेडो र ट्रेभोह चालोबाहको योगदान रह्यो।

अभ्यासका क्रममा कोल पाल्मर घाइते भएपछि चेल्सीलाई खेलअघि नै ठुलो धक्का पुगेको थियो। उनको स्थानमा एस्टेभाओ विलियन राखिएको थियो। 

पहिलो हाफको छैटौँ मिनेटमै लुकास पक्वेटाको गोलमा वेस्ट ह्यामले खेलमा सृुरुवाती अग्रता बनाएको थियो।

तर खेलको १५औँ मिनेटमा जोआओले गोल गरेर चेल्सीलाई अगाडि बढाए। त्यसपछि खेललाई आफ्नो पक्षमा पारेको चेल्सीले फराकिलो गोलअन्तरका साथ जित हासिल गरेको हो। 

पहिलो जितसँगै चेल्सी ४ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लेको छ। चेल्सीले पहिलो खेलमा क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।

लगातार दुई खेलमा हार भोगेको वेस्ट ह्याम भने अंकविहीन बनेर तालिकाको पुछारमा छ।