सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान जारी

सफल खबर संवाददाता

शनिबार, २३ पुस २०७९, ०९ : १४
सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान जारी

काठमाडौं । सर्वोच्च बार एसोसिएसनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि भएको मतदान दिउँसो ३ बजे सम्पन्न हुनेछ । त्यसपछि मतगणना गरिनेछ । निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगत रूपमा प्रतिस्पर्धा हुँदै छ । बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक समूहबाट अध्यक्षका लागि वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले उमेदवारी दिएका छन् भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट अध्यक्षको उमेदवार छन् ।

यस्तै, एक उपाध्यक्षका लागि लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले छन् । सचिवका लागि लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा छन् ।

सहसचिवका लागि लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सजिता शाक्य उमेदवार छन् । एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल प्रतिस्पर्धामा छन् । एक महिला सदस्यका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेल छन् ।

सदस्यका लागि लोकतान्त्रिक समूहबाट इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी र बद्रीराज भट्ट रहेका छन् । प्रगतिशीलबाट विवेककुमार पौडेल, प्रभुजी पन्त, विनोदकुमार श्रेष्ठ, वीरेन्द्र महर्जन, प्रभाकर श्रेष्ठ, अनुपराज उप्रेती र रमेशराज शर्मा सिग्देल चुनावी मैदानमा छन् ।

पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ । सर्वोच्च बारमा ६२१ मतदाता छन् । 

प्रतिक्रिया दिनुहोस