निगमको हिरक महोत्सवः डाकोटाबाट वाइडबडीसम्म

रासस

आइतबार, १७ असार २०७५, १९ : १७
निगमको हिरक महोत्सवः डाकोटाबाट वाइडबडीसम्म

सिवी अधिकारी 

काठमाडौँ  ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आफ्नो स्थापनाको ६० वर्षको इतिहासमा पहिलोपटक वाइडबडी विमान भित्र्याएर व्यावसायिक योजनाका साथ विभिन्न गन्तव्यमा उडान भर्ने तयारी गरेको छ ।  सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६० वर्षे दौरानमा हालै वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएको हो । 

‘अन्नपूर्ण’ नामको वाइडबडी यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमले अमेरिकी कम्पनी एएआरसँग खरीद गरेका दुईवटा वाइडबडी विमानमध्ये पहिलो विमान आएको हो । दोस्रो विमान डेढ महिनापछि ल्याइनेछ । 

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार पहिलो चरणमा दुबई/दोहा उडान गरिनेछ भने त्यसपछिका चरणमा जापान, दक्षिण कोरिया र साउदी अरेबियाको रियादमा उडान भर्ने योजना छ । 

निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । हाल एक बोइङ नाइन एसिबी–७५७ र ए–३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीनवटा ट्विनअटर विमान छन् । 

निगमले बोइङ ७५७ एयरबस ए–३२०, टवीनअट्टर वाई १२ ई, र एमए ६० गरी कूल पाँच प्रकारका विमानबाट आफ्नो सेवा सञ्चालन गरिरहेको जनाएको छ । 

सन् १९६० मा जहाजको संख्या दोब्बर भयो । १९७२ मा निगमले दुईवटा बोइङ र १९८७ मा थप दुई वटा बोइङ जहाज खरीद गरी आफ्नो शाखलाई थप मजबुत गराउँदै गयो । वि.सं २०४९/५० सम्म आइपुग्दा निगमले निकै फड्को मारेको थियो । त्यतिबेला निगमसँग दुईवटा बोइङ, तीनवटा पिलाटस पोर्टर, तीनवटा एभ्रो, र १० वटा ट्विनअटर गरी २० वटा जहाज थिए । तर चुस्त व्यवस्थापनको अभाव तथा राजनीतिक हस्तक्षेपलगायतका कारण निगम धराशायी अवस्थामा पुग्यो । 

निगमको इतिहासमा सन् १९९० को दशकलाई स्वर्णिम सयम मानिने गरिन्छ । त्यतिखेर गन्तव्य विस्तारको हिसाबले निगमको फैलावट जापानको ओसाका, चीनको साङ्घाई हुँदै युरोपली मुख्य शहरहरु लण्डन, पेरिस, फ्र्याङफर्टसम्म पुगेको थियो । निगमसँग स्वदेशी विमान चालक (पाइलट) हरु प्रशस्त थिए । त्यतिखेर निगम दक्षिण एसियाकै प्रतिष्ठित वायु सेवा कम्पनीका रुपमा स्थापित थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवतजावतको तथ्यांकलाई हेर्दा सन् २०१५ मा ३२ लाख ९७ हजार ९६२ रहेकामा सो बढेर सन् २०१६ मा ३५ लाख १० हजार ७४२ पुगेको छ । निगमको बजार हिस्सा पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । सन् २०१५ बजार हिस्सा करीब ९५ प्रतिशत रहेकामा सन् २०१६ मा ११५ पुगेको छ । 

सन् २०१५ मा सबैभन्दा बढी पर्यटक ओसार्ने वायु सेवाको सूचीमा निगम पाँचौँ स्थानमा रहेकोमा सन् २०१६ मा निगम सो सूचीको पहिलो स्थानमा आइपुगेको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ आव २०७२/७३ मा तीन लाख ४४ हजार यात्रुलाई सेवा प्रदान गरेका थियो भने आव २०७३/७४ मा चार लाख २१ हजार यात्रु बोकेको छ । 

स्थापनाको ६० वर्षे इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा चिन्ता बढेको छ । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धा आदि कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रबद्र्धन आदिले निकै उकासिएको अधिकारीहरु बताउँछन् । 

महाप्रबन्धक कंसाकारले विभिन्न आरोह अवरोहलाई चिर्दै निगम अहिलेको अवस्थामा नाफा कमाइरहेको बताउछन् । यद्यपि, निगमले कति नाफा कमायो भनेर उनले खुलाउनु भएन । डेढ वर्षअघि निगमले रु सात करोड ५० लाख नाफा कमाएको जनाएको थियो । 

महाप्रबन्धक कंसाकारले निगममा नयाँ वाइडबडी विमान भित्र्याएसँगै संस्थालाई पूर्ण व्यावसायिक बनाई विश्वका एयरलाइन्ससँग प्रतिस्पर्धी बनाउने योजनाका साथ काम अघि बढाइएको जानकारी दिए ।  निगमका अनुसार ग्राउण्ड ह्याण्डलिङमार्फत निगमले दैनिक नौ हजार याुत्र र १४ सय ब्यागेज (झोला) को व्यवस्थापन गर्दै आएको छ । यो सेवाबाटै निगमले एक वर्षअघि आइसागो सर्टिफिकेटसमेत प्राप्त गरेको थियो । 

निगमको हीरक महोत्सवलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले निगमको ६० वर्षे आरोह–अवरोहमा आशालाग्दा र दुःखद दुवै क्षण रहेको र विगतको कमीकमजोरीबाट सच्चिएर निगमलाई प्रतिस्पर्धी संस्थाका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । 

‘इतिहासमा गर्भ गर्ने हैन, प्रगति कति भयो त्यो मुख्य कुरा हो । अब, विगतका कमजोरीबाट शिक्षा लिएर भविष्यको सहज बाटो लिनु आजको आवश्यकता र चुनौती हो । आगामी दिनमा विश्वका प्रतिस्पर्धी एयरलाइन्ससँग प्रतिस्पर्धी बन्नैपर्छ,’ उनले भने । 

सँगै खुलेका एयरलाइन्सले फड्को मार्दा निगमको अवस्थामा सुधार नआउनु दुःखद पक्ष हो भन्दै मन्त्री अधिकारीले निगमको व्यवस्थापनलाई प्रभावकारी रुपमा सुधार्न जरुरी भएको उल्लेख गरे । 

मन्त्री अधिकारीले भने, ‘अब, तपाईंहरु (निगम) लाई विमानको कमी हुने छैन, भविष्यमा धेरै नेपाली विमान आकासमा उड्नेछन् यसका लागि सरकारको पूर्ण सहयोग र जनताको साथ रहनेछ, त्यसैले निगमले व्यावसायिक योजनालाई प्रभावकारी कार्यान्वयन गरी गन्तव्य विस्तार र व्यापार प्रवद्र्धनमा ध्यान दिनैपर्छ, प्रभावकारी रणनीतिक साझेदार भित्र्याएर भए पनि निगमको क्षमतालाई सुधार्नै पर्छ ।’ 

सन् २०२० मा २० लाख र सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक पु¥याउने सरकारी योजनालाई साकार तुल्याउन राष्ट्रिय ध्वजावाहक बलियो र सफल हुनैपर्ने खाँचौ औँल्याउँदै मन्त्री अधिकारीले निगमको साख नउक्सिएसम्म देशले पर्यटन विकासमा सफलता हासिल गर्न नसक्ने बताए । 

सो अवसरमा मन्त्री अधिकारीले निगमको पूँजी वृद्धि गरी दुर्गम क्षेत्रमा हवाई सेवा विस्तारका लागि आगामी आवका लागि रु पाँच अर्ब बजेट व्यवस्था गरिने जानकारी दिए । निगमले पूँजी वृद्धिका लागि रु २० अर्ब माग गरेको थियो । 

पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले दुर्गम क्षेत्रका जनताको भरपर्दो यातायात सेवाका रुपमा रहेको निगमको सेवालाई थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । 

पर्यटन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले निगमको साखलाई जोगाएर सेवामा गुणस्तर कायम गर्न रणनीतिक व्यवस्थापन साझेदार र रणनीतिक वित्तीय साझेदारी आवश्यक भएकाले त्यसको प्रक्रिया चाँडै शुरु गरिने उल्लेख गरे । 

निगम आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगी, निगम कर्मचारी संघका अध्यक्ष तारणीराज दाहाल र निगम कर्मचारी संगठनका अध्यक्ष मनोज साहले नयाँ वाइडबडी विमानको प्रभावकारी सञ्चालनका लागि सम्पूर्ण कर्मचारी सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया दिनुहोस