थाइल्याण्डमा पानीजहाज डुब्दा ३१ नौसैनिक बेपत्ता

एजेन्सी

सोमबार, ०४ पुस २०७९, १५ : २१
थाइल्याण्डमा पानीजहाज डुब्दा ३१ नौसैनिक बेपत्ता

एजेन्सी । थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको नौसैनिकका प्रवक्ताले बताएका छन् । एचटीएमएस सुखोथाईले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि उद्धार अभियान सुरु गरिएको थियो ।

नौसेनाले सार्वजनिक गरेका तस्बिरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा नाटकीय रूपमा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ । नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले वेपत्ता सैनिकको खोजि भइरहेको बताए । उनले भने, “हामी अझै पनि हराइरहेका ३१ जनाको खोजी गरिरहेका छौं ।”

जहाजको ‘अपरेटिङ सिस्टम’ले काम गर्न छोडेपछि जहाजले नियन्त्रण गुमाएको थियो,” उनले सोमबार बिहान बताए । जहाजमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुई वटा हेलिकप्टर, दुई वटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको छ । बिहान ७ बजेदेखि सुरु भएको खोजी तथा उद्धार कार्य जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।

करिब ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४० जनालाई सुरक्षित आश्रयस्थलमा राखिएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस