चौधौँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र

सफल खबर संवाददाता

आइतबार, ०३ पुस २०७९, १६ : ५५
चौधौँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र

चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवको १४औँ संस्करणको तयारी तीव्र पारिएको छ ।उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हरेक दुई वर्षमा हुँदै आइरहेको यही पुस २५ देखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदीकिनारमा हुँदैछ । महोत्सवका मूल संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवलाई सफल पार्न विभिन्न ३० वटा कार्यगत समिति निर्माण गरिएको बताउनुभयो । महोत्सव स्थलमा अहिले जमिन सम्याउने, पानी छर्कने तथा स्टल निर्माणको काम भइरहेको श्रेष्ठले जानकारी दिए । 

विगतका महोत्सवहरु भन्दा यस महोत्सव पृथक बनाइने भन्दै श्रेष्ठले महोत्सवमा करिब ५०० स्टल रहने जानकारी दिनुभयो । महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले घरेलु तथा लघु उद्योगको उत्पादनलाई प्रवद्र्धन गरिने बताए । उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष एवं आर्थिक समिति संयोजक सहनलाल प्रधानले यसवर्ष महोत्सवमा कृषिलाई प्राथमिकता दिइने बताए । ‘विगतमा हामीले माछा, मौरी, केरा लगायत विभिन्न उत्पादनलाई प्राथमिकता दिएका थियौँ’ प्रधानले भन्नुभयो, ‘यसपटकको महोत्सवमा पनि कृषिलाई प्राथमिकता दिइने भए पनि उत्पादनका बारेमा छलफल भइरहेको छ ।’ महोत्सवमा बालउद्यान सहित अटो, कृषि, स्वास्थ्य, शिक्षा, सूचना र प्रविधिसहितका स्टलहरु हुने बताए । 

महोत्सव स्थलमा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गलाई निःशुल्क प्रवेश दिइने भन्दै उहाँले सर्वसाधारणका लागि रु ६० तथा विद्यार्थीका लागि रु ३० को टिकटको व्यवस्था गरिएको बताए । उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले यस महोत्सवमा पनि कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर स्टलहरु निर्माण हुने बताए । ‘महोत्सवमा मेड इन नेपाल र मेड इन चितवन भनेर रहनेछ’ केसीले भन्नुभयो, ‘साना उद्योगमा प्रयोग हुने मेसिनरीहरुलाई समेत प्रवद्र्धन गर्दै युवास्वरोजगारलाई जोड दिनेगरी महोत्सव हुँदैछ ।’ न्यून पुँजी लगानी गरी लघु उद्योग सञ्चालन गर्न सकिने उपकरणहरु महोत्सवमा रहने केसीको भनाइ छ । 

महोत्सव अवधिमा स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधारसहितका विषयमा राष्ट्रियस्तरको सेमिनार आयोजना हुने केसीले बताए । चितवनलाई जैविक विविधताको भूमि भनेर चिनाउनेगरी महोत्सवस्थलमा विभिन्न जनावरहरुको आकृति राखिने केसीको भनाइ छ । ‘चितवनको जैविक विविधतालाई समेत प्रवद्र्धन गर्नेगरी महोत्सवमा विशेष आकर्षण रहनेछ’ केसीले भने, ‘चितवन चिनाउने हात्ती, गैँडा, गोहीलगायतका जनावरहरुको प्रतिमा निर्माण गरेर राख्ने तयारी भइरहेको छ ।’ 

यसपटकको चितवन महोत्सवको मुख्य प्रायोजकको रुपमा ‘सुपर जनरल इन्टरनेशनल’ रहेको छ । सुपर जनरल इन्टरनेशनल घरमा प्रयोग हुने विद्युतीय वस्तुहरु (होम एपलाइनसेस)को उत्पादन गर्ने दुबईको कम्पनी हो । यसको आधिकारिक विक्रेताकोरुपमा चितवनको नारायणगढस्थित लीलाचोकमा अल्फा इलेक्ट्रोनिक्स रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस