अहिलेको अवस्थामा एमाले सरकारमा जानहुँदैन : गोकर्ण विष्ट

सफल खबर संवाददाता

आइतबार, ०३ पुस २०७९, १२ : ११
अहिलेको अवस्थामा एमाले सरकारमा जानहुँदैन : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले अहिलेको अवस्थामा एमाले सरकारमा जान नहुने बताएका छन् । निर्वाचन परिणामबाट एमाले दोस्रो ठूलो दल बनेकाले एमालेले प्रतिपक्षमै रहेर जनताका मुद्दालाई उठाउनुपर्ने उनको भनाइ छ ।

आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमाले सचिव विष्टले सबभन्दा ठूलो दल काँग्रेसले सरकार गठन गर्न सकेन भने मात्र एमाले अघि सर्नुपर्ने आवश्यकता औंल्याउँदै तत्काल एमालेका निम्ति सरकार प्राथमिकताको विषय नभएको बताए ।

समानुपातिक मतपरिणाममा एमाले पहिलो दल बने पनि प्रत्यक्षको परिणामका आधारमा दोस्रो दल बनेकोले आगामी पाँच वर्ष प्रतिपक्षमै रहेर लोकतन्त्र, सामाजिक रुपान्तरण र विकासका मुद्दालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘जनताले एमालेलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट दिएका छन् । त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधि गर्ने पक्षमा हामी छैनौ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन । तर, बाध्यात्मक परिस्थिति आयो भने लोकतान्त्रिक मूल्य मान्यताअनुसार नेतृत्व लिन पहल पनि गर्छौं,’ विष्टले भने ।

यो निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको उनले बताए । एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रुपमा अनुमोदन गरेको भन्दै मतदातालाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस