भक्तपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले देशले एकता र साझा सहमतिको विन्दु खोजेको बताए ।
जनताले निर्वाचित गरेका नेताहरुले आफूप्रति इमान्दारिता र जनताप्रति बफादार भएर लाग्नुपर्ने औंल्याउँदै उनले भने, “हामी आफ्ना आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ, जित्नु ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, त्यो पूरा गर्न इमान्दार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ ।”
चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरुको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्ने बताए ।
उनले भने, “आश्वासन दिँदा त्यहाँ ठाउँ राख्नुपर्छ, जनताका सबै माग पूरा गर्न सकिँदैन, सक्दो कोसिस गर्नुपर्ने हुन्छ ।” अध्यक्ष नेपालले नेपालको अर्थतन्त्र सङ्कटतर्फ बढेको भन्दै यसलाई कसरी सुधार्ने भनेर समीक्षा गर्नु आवश्यक रहेको बताए । राजनीतिक परिवर्तनसँगै अब आर्थिक परिवर्तन र विकासको दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल