राजदूत खड्काले बुझाए पोल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

सफल खबर संवाददाता

शुक्रबार, २३ मंसिर २०७९, १३ : ०९
राजदूत खड्काले बुझाए पोल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासमक्ष गैर आवासीय राजदूतको ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

वेलभिडीयार प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत खड्काले राष्ट्रपति डुडासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजदूत खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै पोलिस जनताको शान्ति, निरन्तर प्रगति एवं सम्बृद्धिका लागि पठाएको शुभकामना सन्देश प्रस्तुत गरेका थिए। 

राजदूत खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रपति, सरकार र पोलिस जनताप्रति नेपाल सरकार र नेपाली जनताको शुभेच्छा र शुभकामना समेत व्यक्त गरेका थिए । खड्काले सैनिकहरूको समाधि स्थलमा श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण तथा स्मृति पुस्तकमा हस्ताक्षर गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

ओहदाको प्रमाणपत्र पेशसंगै कुटनीतिक प्रचलन अनुसार राजदूत खड्का र पोलिस परराष्ट्र उपमन्त्री तथा विदेश मन्त्रालय स्थित एसिया प्यासिफिका निर्देशक लगायतबीच शिष्टाचार भेटवार्तामा नेपाल र पोल्याण्ड द्विपक्षीय सम्वन्धका बारेमा विचार आदानप्रदान भएको दूतावासले जनाएको छ।

जर्मनी स्थित नेपाली दूतावासको जर्मनी लगायत पोल्याण्ड, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हङ्गेरी, रोमानिया, बुल्गेरिया, युक्रेन र भ्याटिकन सिटि (होली सी)समेत देशहरूमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।

 

 

प्रतिक्रिया दिनुहोस