पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रासस

मंगलबार, १२ असार २०७५, ०९ : ३९
पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

फाइल फोटो

बागलुङ । भिषण वर्षापछि गएराति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ । गलकोट नगरपालिका–७ को बाँस्खोला, आँगाखेत र वडा नं ३ हटियामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो । जिल्लाको पश्चिम भेगबाट छोटो तथा लामो दूरीमा चल्ने यातायात रोकिएको जनाइएको छ । गलकोट क्षेत्रका अधिकांश ग्रामीण सडक पनि पहिराले अवरुद्ध बनाएको वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले बताए ।

“ठाउँठाउँमा गएको पहिराले मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्घ छ,” अध्यक्ष भण्डारीले भने, “पहिराले अन्यत्र पनि भौतिक क्षति पु¥याएको खबर आइरहेका छन् ।”

पहिरो हटाई लोकमार्ग सुचारु गर्न प्रयास भइरहेको हटिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टेकबहादुर खाडामगरले बताए । रातभर परेको अविरल वर्षापछि जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस