निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ : गृह मन्त्रालय

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १३ : ३०
निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ : गृह मन्त्रालय

काठमाडौं । सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।

गृहसचिव विनोदप्रकाश सिंहले भयरहीत वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे । उनले देशका सबै ठाउँका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भइ मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरू सक्षम रहेको बताए ।

गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रवन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरू निर्वाचन केन्द्रमा पुगिसकेको बताए । उनले मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको पनि जानकारी दिए । 

उनले भने– ‘प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्थालाई सुनिश्चितता गरिएको छ । हामीले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरू सम्पन्न गरिसकेका छौँ । त्यसबाट प्रदेश र जिल्लास्तरका सुरक्षा निकायहरूसँग, समितिहरुसँग छलफल भएको छ । त्यहाँ सबै ठाउँको प्रतिवेदनको आधारमा हेर्दा सुरक्षा व्यवस्था चुस्त छ । निर्धक्क भएर मतदान गर्नसक्ने किसिमको वातावरण बनाउन सुरक्षा निकायहरू र जिल्लामा रहेका सुरक्षा निकायहरू सक्षम रहेको देखिन्छ । यो अवधिमा विशेष गरी निर्वाचनको सन्दर्भमा उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षा यी सबै कुराको सुरक्षालाई हामीले हेरिरहेका छौँ । सबै क्षेत्रबाट सुरक्षाको प्रत्याभूति गर्न सकिने स्थिति रहेको छ । निर्धक्क भएर मतदान गर्नसक्ने वातावरण तयार भएको देखिन्छ ।’ 

उनले भने– ‘हामीसँग १० हजार ८ सय ९२ वटा मतदान स्थलहरू रहेका छन् । त्यसमा २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरू रहेका छन् । हामीले हरेक मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी सुरक्षा प्रयोजनलाई वर्गीकरण गरेका छौँ । तदनुरुप नै सुरक्षाकर्मीहरू सम्पूर्ण मतदान स्थलहरुमा र मतदान केन्द्रहरूमा सुरक्षाका लागि खटिसकेका छन् । निर्वाचनको दिन र निर्वाचन भन्दा अघिको मौन अवधिमा पनि सम्पूर्ण रुपमा सुरक्षा प्रवन्धहरु गरेका छौँ । त्यसले आसन्न निर्वाचनमा भयरहीत र शातिन्पूर्ण निर्वाचन गराउन सक्षम हुनेछौँ  । भयरहीत वातावरणमा मतदाताले मतदान गर्न पाउने कुरा सुनिश्चित गरिएकाले निर्धक्क भइ मताधिकारको प्रयोग गर्न आग्रह गर्दछु ।’

देशभर कुल १० हजार ८ सय ९२ वटा मतदान स्थलहरू र २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरू रहेका छन् । 

प्रतिक्रिया दिनुहोस