जुम्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, १५ : ५८
जुम्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । मङ्सिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि  जिल्लाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रगरी १३ जना प्रतिस्पर्धामा उत्रिएका छन् । 

एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रतिनिधिसभाका लागि  चार र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभाका लागि नौजना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा नेपाल मजदुर किसान पार्टी, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये प्रमुख दल सत्ता गठबन्धनबाट माओवादीका गोमा गौतम कुँवर,  एमालेका  रतननाथ योगी, राप्रपाका ज्ञानेन्द्र शाही र नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

यस्तै प्रदेशसभातर्फ क्षेत्र १ (क) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही, एमालेका धिरेन्द्रराज गिरी, नेमकिपाका राजेश्वर देवकोटा र स्वतन्त्रबाट देवेन्द्रबहादुर शाही प्रतिस्पर्धी छन् । प्रदेशसभा क्षेत्र २ (ख) मा गठबन्धनबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई, नेमकिपाका विर्षबहादुर रावत, राप्रपाका देवप्रसाद न्यौपाने र स्वतन्त्रबाट धनबहादुर बस्नेत प्रतिस्पर्धामा छन् । बाटो, पुल, सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीजस्ता विषयवस्तुलाई नै यहाँका उम्मेदवारले प्रायः चुनावी एजेन्डा बनाएका छन् ।

जिल्लामा निर्वाचन आचारसंहिताका बारेमा आफूहरुले सूक्ष्म ढङ्गले अनुगमन गरिरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । “अहिलेसम्म आचारसंहिता उल्लङ्घनका घटना खासै जिल्लामा भएका छैनन्”, उनले भने, “मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुईदिने निर्वाचनसम्बन्धी तालिम सञ्चालन भइरहेको छ । तालिम सकिएलगत्तै सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई कार्यक्षेत्रमा खटाइने छ । जिल्लामा आठ सय ४८ कर्मचारी र एक हजार आठ सय सुरक्षाकर्मीसहित म्यादी प्रहरी निर्वाचनमा परिचालन हुने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।

जिल्लाका आठवटै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सञ्चालन भइसकेको छ ।  यहाँका ६० वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए । गएको वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाँच पालिकाको प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो । माओवादीले दुईवटा पालिका प्रमुख, चार उपप्रमुख, १९ वडामा अध्यक्ष जितेको थियो । एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित छ वडाध्यक्ष जितेको थियो।  

एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गर्न सकेन । जिल्लाका ६० वडामध्ये छ वडाध्यक्ष मात्रै एमाले जितेको थियो भने राप्रपाले कुनै वडाध्यक्षमा जितेको थिएन । स्थानीय तहको उक्त निर्वाचनमा जुम्लाको वडाध्यक्षले पाएको मतका आधारमा सत्ता गठबन्धन निकै बलियो देखिएको छ । कांग्रेस  १६ हजार ७५ मत पाएर सबैभन्दा ठूलो पार्टी भएको थियो । माओवादीले १४ हजार एक सय ७५ मत पाएर दोस्रो ठूलो पार्टी बनेको थियो । एकीकृत समाजवादीका उम्मेदवारले छ हजार एक सय ९५ मत पाएका थिए ।  सत्ता गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा प्रतिनिधिसभाका लागि  एमाले ३० हजार मतले पछि परेको देखिन्छ  । एमालेले वडाध्यक्षमा छ हजार नौ सय ६२ मत पाएको थियो भने राप्रपाले पाँच सय ४० मत मात्र पाएको थियो ।

निर्वाचनका लागि जुम्लामा ८३ वटा मतदानस्थल र एक सय छवटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा सदस्यको निर्वाचनका लागि (क) मा ३६ हजार सात सय ८३ र (ख) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस