रवि छुटाउन आन्दोलन गरे पनि भोट नहाल्ने चितवनका मतदाताको भनाइ

सफल खबर संवाददाता

शुक्रबार, २५ कार्तिक २०७९, ११ : २०
रवि छुटाउन आन्दोलन गरे पनि भोट नहाल्ने चितवनका मतदाताको भनाइ

चितवन । सञ्चार क्षेत्रबाट आएका राट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनलाई रोज्नुको एउटा मुख्य कारण हो उनलाई चितवनबासीले गरेको समर्थन र आन्दोलन ।

आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेलाई छुटाउन माग गर्दै चितवनमा ठूलो आन्दोलन भएको थियो । उक्त आन्दोलनमा चितवनबासीले साथ दिएकै कुरालाई आधार बनाएर रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नं। दुईबाट प्रतिनिधि सभा  सदस्यका उम्मेद्वार बनेका छन् ।

आन्दोलनमा पाएको जसरी साथ पाउने आश रवि लामिछानेको छ । तर यथार्थ भने त्यस्तो नरहेको आन्दोलनमा सहभागीहरुले नै बताएका छन् । आन्दोलनमा सहाभागी रहेकी भरतपुर २ की एक महिलाले भनिन्, ‘हिजोको समस्यामा मैले पनि साथ दिएको हो । आज चाहिँ म घण्टिलाई भोट दिन्न ।’

यसै गरी भरतपुर २ की मतदाता प्रतिमा चापागाईंले पनि त्यस्तै कुरा गरिन् । हिजो रविलाई अन्याय भयो की भनेर न्यायका लागि आफूहरु लडेको बताउँदै उनले त्यसैको आधारमा भोट आउँछ भन्नु रवि लामिछानेको भ्रम रहेको बताइन् । रवि लामिछाने एक्लो मान्छे सांसद गएर केही नहुने भन्दै उनले सञ्चार क्षेत्रमै फर्कन समेत सुझाव दिइन् ।  

एक्लो मान्छे रविलाई जिताएर केही नुहुने र कृष्णभक्त पोखरेललाई दुईदुई पटक जिताउँदा पनि केही गर्न नसकेकाले अब उमेश श्रेष्ठलाई जिताउन लाग्ने उनले बताइन् ।निर्दोष व्यक्ति फस्यो भनेर आफूहरुले आवाज उठाएको बताउँदै उनले यो चितवनबासीको रवि लामिछानेलाई समर्थन भन्दा पनि अन्याय विरुद्धको आवाज उठाउने बानी भनेर बुझ्नु पर्ने उनको भनाइ छ ।

चितवन २ मा रवि लामिछानेसँगै नेकपा एमालेका कृष्णभक्त पोखरेल र गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ चुनावी मैदानमा छन् । यी तीन उम्मेद्वारसहित चितवन क्षेत्र नम्बर ३ मा १६ जना उम्मेद्वाहरु चुनावी प्रतिस्पर्धामा छन् । तर चुनावमा यी तीन उम्मेद्वारबीच नै प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस