ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडौँ : मन्त्री भुसाल

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, १८ : ५३
ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडौँ : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर ललितपुरलाई समृद्ध बनाउन सकिने बताएकी छन् । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललिपतुर क्षेत्र नं ३ को साझा उम्मेदवार समेत रहेकी मन्त्री भुसालले यहाँको मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गुठियारसँग छलफल नै नगरी एकलौटी रुपमा यहाँको कला संस्कृतिमाथि अतिक्रमण गर्ने गरी गुठी विधेयक ल्याउँदा आफूले संसद्बाट प्रतिरोध गरेको स्मरण गर्दै उनले भनिन्, “मैले त्यतिबेला पनि संसद्मा गुठियारसँग छलफल नगरी ल्याएको विधेयक फिर्ता गर्न र सम्बन्धित पक्षसँगको समन्वयबाट मात्र विधेयक अगाडि बढाउन आग्रह गरेको यहाँहरुले सुन्नुभएकै छ ।”

ललितपुर महानगरपालिका वडा नं २० र १० भित्र आयोजित घरदैलो कार्यक्रममा उनले सांस्कृतिक नगरीका रुपमा रहेको ललितपुरमा पर्यकटीय सम्भावना उच्च रहेको र यसको अधिकतम् सुदपयोग गर्नुपर्ने बताइन् । ललितपुरवासीको समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभिभावकीय जिम्मेवारी निर्वाह गर्ने उद्देश्यले आफू फेरि निर्वाचनमा आएको जनाउँदै उनले नगरवासीको चाहना पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

काठमाडौँ उपत्यकामा रहेको शुद्ध पिउने पानीको समस्या समाधान गर्न आफूले निरन्तर पहल गर्दै आएको स्मरण गराउँदै उम्मेदवार भुसालले खानेपानी समस्याको दीर्घकालीन समाधान खोज्न आफू लागि पर्ने बताइन् । 

मन्त्री भुसालको पहलमा ललितपुरका प्रायः जसो टोलवस्तीमा भित्री सडक, पुल, ढल, खानेपानी, विद्यालय, स्वास्थ्य चौकीलगायत सडक निर्माण र स्तरोन्नति भएका छन् । सहकारी र रोजगारीका क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् । घरदैलो अभियानका क्रममा उनले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् ।