नेपाली सेनाले ट्राइएड्भेन्चर प्रतियोगिता गर्दै

सफल खबर संवाददाता

विहीबार, १७ कार्तिक २०७९, २० : ५०
नेपाली सेनाले ट्राइएड्भेन्चर प्रतियोगिता गर्दै

काठमाडौँ । आगामी मंसिर ९ गते नेपाली सेनाले अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिताको आयोजना गर्दैछ। विगत ८ वर्षदेखि निरन्तर गर्दै आएको सेनाले एड्भेन्चर स्पोर्टसको पाँचौँ संस्करणको आयोजना गर्न लागेको जनाएको छ।

बिहीबार एक कार्यक्रमबीच आर्मीले प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिताको बारेमा जानकारी दिएको हो। उसले ट्राइएड्भेन्चर अन्तर्गत दौड, साइक्लिङ र र्‍याफ्टिङ गरी तीन विधामा साहसिक खेलको आयोजना गर्न लागेको प्रतियोगिता धादिङमा हुनेछ।

प्रतियोगिताका लागि १० विदेशी र १५ नेपाली गरी २५ टिमको सहभागिता रहने अनुमान आर्मीले गरेको छ। प्रतियोगितामा पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, चीन, बेलायत, अमेरिकालगायत १० देशलाई निमन्त्रणा गरिएको र बेलायतले सहभागिता सुनिश्चित गरेको र अन्यबाट पनि कन्फर्मेसन आइरहेको आर्मीले जनाएको छ।

भारतबाट आमन्त्रीत नगरिएका टिमले समेत सहभागिताको लागि फर्म भरेकाले यो पटक प्रतियोगिता प्रतिस्पर्धात्मक हुने सेनाले जनाएको छ। प्रतियोगिता १ मंसिरसम्म टिम दर्ता अवधि तोकिएको छ।

धादिङको बैरेनीदेखि चरौँदीसम्म सन्चालन हुने प्रतियोगितामा ६.७ किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर र्‍याफ्टिङ गर्नु पर्नेछ। एउटा टिममा ४ खेलाडी सहभागी हुनेछन्। सुरुवातदेखि अन्तिमसम्म चारजनाले सँगै दूरी पूरा गर्नुपर्ने छ। अन्यथा टिम डिसक्वालिफाइ हुने सेनाले जनाएको छ।

प्रतियोगिताको विजेता टिमले २ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। चौथो र पाँचौँ हुने टिमले क्रमसः २० र १० हजार रुपैयाँ पुरस्कार पाउने छन्।

नेपालको भौगोलिक बनावटअनुसार साहसिक खेलकुदको सम्भावना उच्च रहेको र खेल पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाको खेलकुद प्रमुख मुनाल बस्नेतले जानकारी दिए।

उनले भने, ‘हामीले एडभेन्चर स्पोर्टसमा ठूलो सम्भावना देखेका छौँ। त्यसैले साहसिक खेलसँगै पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्वास लिएका छौँ।’