कार्यदलको अध्ययनपछि प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय लिइन्छ : मन्त्री अधिकारी

रासस

शनिबार, ०९ असार २०७५, १५ : ५३
कार्यदलको अध्ययनपछि प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय लिइन्छ : मन्त्री अधिकारी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा रहेका तीनवटा प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय भइनसकेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवको शुभारम्भ गर्दै उहाँले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई एकीकरण गर्ने विषय उठेपनि निर्णय भइनसकेको बताउनुभएको हो ।


मन्त्री अधिकारीले यी तीन वटा प्रतिष्ठानको फरक चरित्र रहेको भए पनि सशक्तरुपमा कार्यक्रम सञ्चालन गर्न नसकेको अवस्थामा त्यसलाई एकीकरण गर्ने वा नगर्ने भन्नेबारेमा अध्ययन गर्न कार्यदल गठन भएको र त्यसको प्रतिवेदनका आधारमा निर्णय लिइनेछ भन्नुभयो ।

प्रतिष्ठानको वार्षिकोत्सवका सन्दर्भमा गरिने कविता सम्मेलनले साहित्य सिर्जनामा राम्रो प्रभाव पार्ने र वरिष्ठ तथा कनिष्ठ कविलाई एकै स्थानमा प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान हुने पनि उहाँले बताउनुभयो ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति विष्णुविभु घिमिरे, सदस्यसचिव जीवेन्द्रदेव गिरी, कवि महोत्सवका संयोजक अमर गिरीलगायतले प्रतिष्ठानका विभिन्न विभागले अहिलेसम्म गरेका विभिन्न कार्यक्रम तथा गतिविधिका बारे प्रकाश पार्नुभयो ।
महोत्सवमा २१ जना कवि अतिथि तथा ३६ जना कवि प्रतियोगीका रुपमा सहभागी हुनुहुन्थ्यो ।  (रासस)

प्रतिक्रिया दिनुहोस