टी-२० विश्वकप : जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

सफल खबर संवाददाता

आइतबार, १३ कार्तिक २०७९, १२ : ५४
टी-२० विश्वकप : जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा बंगलादेशले जिम्बावेमाथि ३ रनको रोमाञ्चक जित निकालेको छ । ब्रिसबनमा बंगलादेशले दिएको १५१ रनको लक्ष्य पछ्याएको जिम्बावेले ८ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो ।

नाटकीय बनेको अन्तिम ओभरमा जिम्बावेलाई जितका लागि १६ रन आवश्यक थियो । तर जिम्बावेले २ विकेट गुमाएर १२ रन बनायो ।त्यसमा पनि अन्तिम बल झनै नाटकीय बन्यो । जिम्बावेलाई अन्तिम बलमा जितका लागि ५ रन आवश्यक थियो । छक्का हान्दा जिम्बावेले खेल जित्ने थियो भने चौकाले खेल सुपर ओभरमा पुग्ने ।

तर बंगलादेशका मोसादेक होसेनको बलमा विकेटकिपर नुरुल हुसेनले जिम्बावेका ब्लेसिङ मुजाराबानीलाई सटम्पिङ गरे । त्यसपछि बंगलादेशले जितको मनाउन थाल्यो भने जिम्बावे निराश बन्यो ।

तर अम्पारले उक्त बल रिभ्यु गर्दा नुरुले स्टम्प अगाडि बल समातेकोले उक्त बल नो बल भयो र मैदान बाहिर गइसकेका दुवै टिमका खेलाडीहरु फेरि मैदान फर्किए । जिम्बावेले अर्को अवसर पायो ।

नो बलमा १ रन स्वत पाएको जिम्बावेले जितका लागि त्यो अवसरमा ४ रन बनाउनुपर्ने थियो भने ३ रन जोड्दा खेल सुपर ओभरमा जाने थियो । तर उक्त अवसरलाई मुजाराबानीले सदुपयोग गर्न सकेनन् ।

मोसादेकले कुनै रन दिएनन् र बंगलादेश ३ रनले विजयी भयो । बंगलादेशले फेरि पनि खुशी मनाउँदा जिम्बावे अवसर सदुपयोग गर्न नसक्दा निराश बन्यो ।जिम्बावेका लागि सिन विलियम्सले सर्वाधिक ६४ रन बनाए भने राएन बर्ल २७ रनमा अविजित रहे । बंगलादेशका लागि तस्किन अहमदले ३ तथा मोसादेह होसेन र मुस्तापिजुर रहमानले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेट गुमाएर १५० रन बनाएको थियो । बंगलादेशका लागि ओपनर नजमुल होसेन सान्तोले सर्वाधिक ७१ रन बनाउँदा अफिफ होसेनले २९ र कप्तान शकिब अल हशनले २३ रन जोडे ।

जिम्बावेका लागि रिचर्ड एनगाभारा र ब्लेसिङ मुजाराबानीले २-२ तथा सिकन्दर राजा र सिन विलियम्सले १-१ विकेट लिए ।सुपर १२ को समूह बी मा दोस्रो जित निकालेको बंगलादेश ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । भारत समान अंक भए पनि नेट रनरेटमा बंगलादेश पछि रहेको हो ।जिम्बावेको भने सुपर १२ म यो पहिलो हार हो । ३ खेलबाट ३ अंक रहेको जिम्बावे चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस