टी–२० विश्वकपः फ्लिप्सको शतकमा न्युजिल्यान्डको दोस्रो जित

सफल खबर संवाददाता

शनिबार, १२ कार्तिक २०७९, १७ : ५१
टी–२० विश्वकपः फ्लिप्सको शतकमा न्युजिल्यान्डको दोस्रो जित

काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा न्युजिल्यान्डले आफ्नो अपराजित यात्रा जारी राखेको छ। शीर्ष–१२ को समूह १ को तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले पराजित गर्‍यो।

जितसँगै न्युजिल्यान्ड ५ अंकका साथ शीर्ष स्थानमा कायम रह्यो। न्युजिल्यान्डको जितमा विकेटकिपर ब्याट्सम्यान ग्लेनन फिलिप्सले शतकीय इनिङ खेलेका थिए। यसअघि पहिलो खेलमा अस्ट्रेलियालाई ८९ रनले पराजित गरेको न्युजिल्यान्डले दोस्रो खेलमा भने वर्षाका कारण अफगानिस्तानसँग अंक बाँड्नु परेको थियो।

शनिबार सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो।

एक समय १५ रन जोड्दा तीन विकेट गुमाएको न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ६४ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक १ सय ४ रनको सानदार शतकीय इनिङ खेले। उनले ६१ बलमा शतक पूरा गरेका थिए। उनले विश्वकपमा पहिलो र टी–२० अन्तराष्ट्रियमा दोस्रो शतक प्रहार गरेका थिए। त्यस्तै ड्यारियल मिचेलले २२ रन बनाएका थिए।

त्यसअघि उनले दुई जिवनदान पाएका थिए। स्पिनर वानिन्दु हसरंगाले उनलाई १२ रनको अवस्थामा क्याच आउट गर्ने मौका गुमाएका थिए। त्यस्तै कप्तान दासुन शनकाले ४५ रनमा अर्को क्याच छोड्न पुग्दा फिलिप्सले सानदार शतक पूरा गर्न सफल रहे। खराब सुरुवात गरेको न्युजिल्यान्ड ४ ओभरमा १५ रन जोड्दा ३ विकेट गुमाउन पुगेको थियो। तर चौथो विकेटका लागि फिलिप्स र ड्यारियल मिचेलले ८४ रनको साझेदारी गर्दै टिमको संकट टारेका थिए।

श्रीलंकाका कासुन रजिथाले २ विकेट लिँदा महेश थिक्सना, धनन्जय डि सिल्भा, वानिन्दु हसरंगा र लाहिरु कुमाराले एक–एक विकेट लिएका थिए।

१ सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंका पनि खराब प्रदर्शनको सिकार भयो। ८ रन जोड्दा ४ विकेट गुमाएको श्रीलंका १९.२ ओभरमा अलआउट हुँदै १ सय २ रनमा समेटियो।

खराव सुरुवातका बाबजुत श्रीलंकाको मध्यक्रम पनि सम्हालिन सकेन। उसका लागि कप्तान दासुन शनाकाले सर्वाधिक ३५ रन बनाएका थिए। त्यस्तै भानुका राजापाक्षले ३४ रन बनाउनु अर्को दोहोरो स्कोरका रुपमा रह्यो। उसका अन्य कुनैपनि ब्याटरले दोहोरो स्कोर बनाउन सकेनन्।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा ट्रेन्ट बोल्टले ४ विकेट लिँदा मिचेल स्यान्टनरले २ विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस