चितवनका झन्डै ८० प्रतिशत किसानले गरेका छैनन् बिमा

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, ११ : ५४
चितवनका झन्डै ८० प्रतिशत किसानले गरेका छैनन् बिमा

चितवन । चितवनका झन्डै ८० प्रतिशत किसानले आफ्नो उत्पादनको बिमा गरेका छैनन् । बिमा नहुँदा बेलाबखत आउने प्राकृतिक विपत्तिका कारण किसान ठूलो क्षति व्यहोर्न बाध्य छन् । चितवनका किसानले बाली र पशुमा नयाँ नयाँ रोग र बर्खामा बाढीको प्रकोप व्यहोर्नु परेको छ ।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार चितवनमा एक लाख आठ हजार ५६७ किसान छन् । तीमध्ये ८४ हजार ८३३ किसानले निर्वाहमुखी कृषि पेसा गर्छन् भने एक हजार ४४६ किसानले मात्रै व्यावसायिक कृषि गरेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे बताउँछन् ।

जिल्लाका ८६ हजार २७९ जना अर्थात् ७९.५ प्रतिशत किसानले कृषि बिमा गरेकै छैनन् । कृषि बिमा गरेका २२ हजार ६८६ किसानमध्ये सबैभन्दा धेरै पशुपंक्षी उत्पादन गर्ने किसान १८.७ प्रतिशत अर्थात् २० हजार ३४५ जना छन् । त्यस्तै बाली उत्पादनको बिमा गर्ने ७२४ जना (०.७ प्रतिशत), मत्स्यपालनको बिमा गर्ने १६० जना (०.१ प्रतिशत) र अन्य उत्पादनको बिमा गर्ने एक हजार ४५४ जना (१.३ प्रतिशत) किसान छन् ।

चितवनमा ४४ हजार ५३७ हेक्टर कृषियोग्य जमिन छ । त्यसमध्ये ३५ हजार ८६ हेक्टर जमिनमा मात्रै सिँचाइ पुगेको उनले बताए । पाण्डेले चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममा परेका योजनाहरू सार्वजनिक गरेका छन् । उनका अनुसार ज्ञान केन्द्रलाई चालू आवका लागि कृषि विभाग, प्रदेश सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गरी एकमुष्ट २१ करोड ८९ लाख चार हजार रुपैयाँ विनियोजन भएको छ ।

गत आवमा २२ करोड ५९ लाख ९२ हजार रुपैयाँ विनियोजन भएकामा ६६.२१ प्रतिशत बजेट खर्च भएको थियो । प्रदेश सरकारले ४४ लाख ५० हजार रुपैयाँ पुँजीगत र १६ करोड दुई लाख ७९ हजार चालू गरी जम्मा १६ करोड ४७ लाख २९ हजार रुपैयाँ विनियोजन गरेको छ ।

कृषि विभागले चार करोड ४९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय खाद्य सुरक्षा मिसनअन्तर्गत धानबाली प्रवर्द्धन कार्यक्रम र दलहन बाली प्रवर्द्धन कार्यक्रमका लागि गरी दुई करोड ५० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

रैथाने बाली प्रवर्द्धन कार्यक्रमका लागि एक करोड २० लाख, प्रांगारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि २९ लाख र वीउ विजन उत्पादन, आपूर्ति तथा व्यवस्थापनका लागि ५० लाख रुपैयाँ विनियोजन भएको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालूतर्फ ९२ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ ।  

प्रतिक्रिया दिनुहोस