अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट

सफल खबर संवाददाता

शुक्रबार, २८ असोज २०७९, १० : १७
अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट

काठमाडाैँ  । जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरबीच भेटघाट भएकाे छ । बिहीबार वाशिङ्गटन डिसीमा भएकाे भेटमा अर्थमन्त्री शर्माले मार्टिनसँग  विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध समेत गरेका हुन् ।

भेटघाटका अवसरमा विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

यसैगरी, अर्थसचिव कृष्णहरि पुष्करले अर्को एक भेटघाटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशनको कम्प्याक्ट अपरेशन विभागका उपाध्यक्ष केमरुन अल्फोर्डसँग भेटघाट गरेका छन् ।

उक्त भेटघाटमा नेपालमा एमसिसी परियोजना तोकिएको समयमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो । उक्त भेटघाटमा युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकाका लागि सहउपाध्यक्ष जोनाथन बु्रकलगायत एमसिसी केन्द्रीय कार्यालयका अधिकारीको सहभागिता थियो ।

यसैबीच, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उहाँका समकक्षी रिजर्भ बैंक अफ इन्डियाका गभर्नर शक्तिकान्त दासबीच अमेरिकाको वाशिङ्टटन डिसीमा छलफल भएको छ ।

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका गभर्नर अधिकारी र दासबीच भेटघाटको अवसरमा दुई देशको मौद्रिक विषय डिजिटाइजेशन, भुक्तानी, ट्रेड सेटलमेन्टस, सार्क फाइनान्स, रेमिटेन्सलगायतका विषयमा छलफल भएको थियो ।

उक्त भेटघाटमा राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाका उच्चपदस्थ अधिकारीको समेत सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस