५१२९६६९८१ नम्बरको अमेरिकी राहदानी कसको रहेछ ?

सूर्यप्रकाश कँडेल

बुधबार, ०६ असार २०७५, १७ : २९
५१२९६६९८१ नम्बरको अमेरिकी राहदानी कसको रहेछ ?

चितवन । अमेरिकाबाट गैरपर्यटक (नातेदार) भिसामा नेपाल आएका एक जनाको राहदानी नम्बर हो ५१२९६६९८१ । अक्टोबर ४ तारिख (असोज १८ गते) सम्मको म्याद रहेको यी राहदानीवाहकले नेपालमा कुनै उद्योग वा व्यवसाय सञ्चालन गर्न पाउँदैनन् । कानुन अनुसार उनले कुनै संघसंस्थामा पारिश्रमिक लिएर वा नलिइकन काम गर्न पाउँदैनन् । तर ५१२९६६९८१ नम्बरको अमेरिकी राहदानी वाहक रवि लामिछानेले घोक्रो फुलाइफुलाइकन हरेक दिन टेलिभिजनमा आफूलाई राष्ट्रवादी छविको देशभक्त पत्रकारका रुपमा प्रस्तुत गरिरहेका छन् ।
विदेशको राहदानी बोकेर गैरपर्यटक भिसामा नेपाल आएका रवि लामिछानेले अबको तीन महिनापछि के गर्छन् ? हेर्न बाँकी छ । अरुलाई नियम र कानुन विपरीत काम किन गरेको भनेर झाँको झार्ने रविले आफै कुन कानून टेकेर नेपाली टेलिभिजनमा कार्यक्रम चलाइरहेका छन् ? यसको जवाफ उनले जनतालाई दिनु पर्छ कि पर्दैन ? सिधा कुरा जनतासामु आओस् भन्ने जनअपेक्षा छ ।
नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले असार ५ गते मंगलबार प्रेस काउन्सीलको नाममा पत्र काटेर रवि लामिछाने गैरपर्यटक भिसामा नेपाल आएको र उनले नेपालमा रहँदा कुनै संघसंस्थामा काम गर्न नपाउने स्पष्ट पारेको हो । अध्यागमन अधिकृत कुलशेखर अर्यालद्वारा काटिएको पत्रमा जुन उद्देश्यको निमित्त भिसा प्राप्त गरिएको हो, त्यहीबाहेक अन्य काम गर्न पाइने छैन भन्ने कानुनी प्रावधान रहेको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस