राष्ट्रपति भण्डारीको कदमविरुद्ध जसपा आन्दोलनमा उत्रिदै

सफल खबर संवाददाता

शुक्रबार, ०७ असोज २०७९, १२ : १८
राष्ट्रपति भण्डारीको कदमविरुद्ध जसपा आन्दोलनमा उत्रिदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध जनता समाजवादी पार्टी(जसपा)ले चरणबद्ध आन्दोलन गर्ने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदम विरुद्ध जसपाको मधेस प्रदेश कमिटीले भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो।

बिहीबार बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले भोली शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको हो।असोज ८ गते मधेस प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुन व्यवसायी र सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने जसपाले तय गरेको छ।

यस्तै असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन गर्दै उनको पुत्ला जलाउने, १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र १५, १६, १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रो पटक पारित गरि पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले वर्तमान संवैधानिक व्यवस्थामाथि धावा बोलेको जसपाको ठहर छ।

प्रतिक्रिया दिनुहोस