समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुटनुपर्छ : उमा रेग्मी

सफल खबर संवाददाता

विहीबार, ०६ असोज २०७९, १२ : ०७
समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुटनुपर्छ : उमा रेग्मी

काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरूसँग आह्वान गरेकी छन्। बिहीबार काठमाडौँ समाज कल्याण परिषद्ले ४३ औँ सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिब, विपन्न, समुदायको सामाजिक र आर्थिक रूपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताएकी हुन्।

उनले सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही हुन आवश्यक रहेको पनि बताइन्।

परिषदमा आवद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सुक्ष्म रूपमा अध्ययन गरिरहेको मन्त्री रेग्मीकाे भनाइ छ।

परिषद्की अध्यक्षसमेत रहेकी उनले सामाजिक संघ, संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिबद्धसमेत रहेको बताइन्।मन्त्री रेग्मीले भनिन्, ‘सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही भइ गरिब, विपन्न, समुदायको सामाजिक, आर्थिक रूपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको छ। परिषदमा आवद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सुक्ष्म रूपमा अध्ययन गरिरहेको छ। यसलाई सकेसम्म पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागि परेको छ। सामाजिक संघ, संस्थाले प्राप्त गरेको सहयोग, दूरदराजका ग्रामीण विपन्न व्यक्ति, समुदाय, लक्षित कार्यक्रमहरू तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यकता हो। अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाई हाम्रो टिमले पारदर्शी बनाउनको निमित्त टेण्डर प्रक्रियाबाट धेरै कामहरू भइरहेको छ। अनुगमन मूल्यांकन अद्यावधिक गर्ने प्रणाली पनि सुरु भइसकेको छ। यो धेरै समयदेखि थाँती रहेको थियो त्यसलाई चलाउन समिति गठन गरेर अघि बढाइएको छ।’

 

प्रतिक्रिया दिनुहोस