नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या

एजेन्सी

विहीबार, ०६ असोज २०७९, ११ : २१
नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या

एजेन्सी । नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन्।

‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्’, आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा बोंगाले एएफपीलाई बताए।

यो सहर लेक चाडको तल्लो क्षेत्र नजिकै डिफामा अवस्थित छ। यो क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा एकाकार हुने क्षेत्र हो।बोको हराम र यसको प्रतिद्वन्द्वी ‘इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स’ ले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् ।

हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए ।चाड ताल छोड्ने आदेशको अवज्ञा गरेको भन्दै जिहादीहरूले यस महिनाको सुरुमा नाइजर र नाइजेरियाका कैयौँ मछुवाहरूको हत्या गरेका थिए।

एक स्थानीय अधिकारीका अनुसार अगस्टको अन्त्यमा उनीहरूले स्थानीयलाई टापु छोड्न आदेश दिएका थिए र पालना नगर्ने केही मानिसहरूको हत्या गरेका थिए।

संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्कको मापदण्डका आधारमा विश्वको सबैभन्दा गरिब देश नाइजरमा सन् २०१२ मा उत्तरी मालीमा सुरु भएको जिहादी विद्रोहको चपेटामा परेको छ।

नाइजेरियासँगको दक्षिणपूर्वी सीमामा पनि नाइजरले विद्रोहको सामना गरिरहेको छ। यो कुख्यात बोको हरामले सुरु गरेको अभियान हो। नाइजर, नाइजेरिया, क्यामरुन र चाडले सन् २०१५ मा बहुराष्ट्रिय संयुक्त कार्यदल (एमजेटीएफ) लाई पुनर्जीवित गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस