सुरक्षा मापदण्ड’ पूरा गरे ‘नाइट शाे’ चलाउन दिन्छाैँः अध्यक्ष केसी

सफल खबर संवाददाता

बुधबार, ०५ असोज २०७९, १५ : ३६
सुरक्षा मापदण्ड’ पूरा गरे ‘नाइट शाे’ चलाउन दिन्छाैँः अध्यक्ष केसी

काठमाडाैँ । चलचित्र विकास बाेर्डका अध्यक्ष भुवन केसीले आवश्यक सुरक्षा मापदण्ड पूरा गरे नाइट शाे चलाउन दिइने बताएका छन् ।राति अबेरसम्म फिल्म लगाउनाले सुरक्षाकाे जाेखिम हुने र विभिन्न अमर्यादित घटना हुनसक्ने भन्दै सुरक्षा मापदण्ड पूरा गरी सबै जिम्मा हल सञ्चालकले लिन तयार रहे आफूहरू चलचित्र लगाउन दिन तयार रहेकाे बताएका हुन् ।

‘रात्रीकालिन शाे नचलाउने भन्ने कुरा भ्रम सिर्जना गरेकाे हाे ।’उनले भने,’हामीले ११ बजेसम्म शाे चलाउन पाउने भन्ने यसअघिनै सूचना जारी गरेका छाैँ । यदि राति ११ बजेपछि पनि चलाउन चाहेमा हलले सुरक्षा पूरा जिम्मा लिन्छाैँ भनि हामीलाई पत्र आउनुपर्याे हामी लाग्न दिन तयार छाैँ ।’

हल सञ्चालकले रातिमा चलचित्र चलाउनका लागि सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालय र विकास बाेर्डगरी यी तीन पक्षसँग सहमति लिनुपर्ने उनकाे भनाइ छ ।यसका साथै प्रेम गीत-३ काे प्रसंगलाई जाेड्दा उनले नेपाली भाषाबाहेक अन्य भाषामा बनेकाे चलचित्रले तिर्नुपर्ने करकाे व्यवस्था छुट्टै भएकाेले त्यसैअनुसार कर तिर्न आग्रह समेत गरेका छन् । ‘ याे कुनै एउटा सिनेमालाई लक्षित गरेर गरेकाे हाेइन याे सम्पूर्ण सिनेमाकाे लागि बनाइएकाे नियम हाे र हामी सधैँ सिने जगतकै पक्षमा छाैँ ।’ उनले भने ।

बाेर्डका अघिल्ला अध्यक्ष दयाराम दाहालले राती ११ बजेसम्म शोज चलाउन दिइने र त्यसपछि चलाउनुपर्ने भए जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिने निर्णय गरेका थिए । दाहालको उक्त निर्णयलाई भुवन केसी नेतृत्वको बोर्डले कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस