संविधान कार्यान्वयनमा दलहरु जिम्मेवार बन्नुपर्छ : सरोकारवाला

प्रकाश सिग्देल

सोमबार, ०३ असोज २०७९, १७ : २०
संविधान कार्यान्वयनमा दलहरु जिम्मेवार बन्नुपर्छ : सरोकारवाला

चितवन । राजनीतिक दलका कारण संविधान कार्यान्वयनमा दलहरु जिम्मेवार बन्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कालिका एफएमको गौरवमय २० औँ वार्षिकोत्सव तथा ८ औँ संविधान दिवसको अवसरमा आयोजित संविधान कार्यान्वयन र चूनौती विषयक कार्यक्रममा बोल्ने अधिकांस व्यक्तिहरुले सत्तामा बस्ने राजनितीक दलबाट नै संविधान कार्यान्वयनमा चुनौती देखिएको बताएका हुन् । 

नेपाली कांग्रेस चितवनका उपसभापति शालिग्राम शर्मा पौडेलले संविधान जारी भएको आठ बर्षसम्म पनि जनजीवनमा देखिने गरि परिर्वतन आउन नसकेको बताए । उनले राजनीतिक पार्टीका विधि र व्यवहारलाई सच्याउनु पर्ने धारणा समेत राखे । ‘अहिले जनजिवनमा आउने परिवर्तन आएनन् । एकैपटक आउने अवस्था पनि होईन । कठिन काममा लागेका छौँ,’ उनले भने, ‘राजनीतिक पार्टीका विधि र व्यवहारमा सच्याउन आवश्यक छ ।’ संविधानले कार्यापालिका, व्यवस्थापिका र न्यायपालिका गठन गरेर सन्तुलन कायम गरेको भन्दै संविधान उल्ङ्घन गर्नेहरुलाई खवरदारी गर्नुपर्ने बताए। 

नेकपा (माओवादी केन्द्र) चितवनका सचिव द्रोणबाबु शिवाकोटीले संविधान कार्यान्वयनमा समस्या रहेको बताएका छन । संविधानले आर्थिक तथा सामाजिक रुपमा परिर्वतन गरेको भन्दै यसलाई परिमार्जन गर्दै संरक्षण गर्नुपर्ने बताए । ‘२०७२मा जारी भएको संविधान अहिलेसम्मका मध्ये उत्कष्ट हो । यसलाई चुनौती दिने कुनै संविधान छैन,’ उनले भने, ‘यसलाई समयानुकुल बनाउँदै संरक्षण गर्न राजनीतिक दल, नागरिक समाज सबैलाग्न आवश्यक छ ।’

नेकपा (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष कृष्णराज न्यौपाने लब्लीले नेपाली जनताको चाहाना अनुसार संविधान कार्यान्वयन हुन नसकेको बताए। ‘संविधान उत्कृष्ट छ ।’ उनले भने ‘हजारौँ शहिदले ल्याएको संविधान संरक्षण गर्न आवश्यक छ।’ उनले शक्तिको आडमा संविधान उलङ्घन हुने गरेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका अध्यक्ष रुद्र ढकालले केही सिमित नेताको निर्देशनमा लेखेको संविधान भएकाले कार्यान्यवनमा चुनौती भएको दावि गरे । ‘धर्मनिरपेक्षता र संघियतामा जाने कि नजाने भन्ने विषयमा कुनै छलफल भएन,’ उनले भने, ‘चार जना नेता एकठाउँमा बसेर संविधान लेख्ने काम भयो । त्यसैले कार्यान्वयनमा चुनौती थपिएको छ ।’

राष्ट्रिय जनमोर्चाका चितवन जिल्ला अध्यक्ष डम्बर पुरीले सरकारले संविधानको मर्म अनुसार काम नगरेको बताए। ‘संविधानमा धेरै सकारात्मक पक्ष छन् । तर, संविधानको मर्मअनुसार काम हुन सकेको छैन,’उनले भने ‘यसलाई कार्यान्वयन गर्दै संरक्षण गर्न आवश्यक छ ।’ उनले नेपाली जनताको भावना विपरित संविधानमा संघियता समावेश गरिएको भन्दै यसले संविधान कार्यान्वयनमा चुनौती थपेको बताए। विवेकशिल साझा पार्टी चितवनका निवर्तमान संयोजक प्रविन काफ्लेले ठुला दलले संविधान मिच्ने प्रयास गरेको बताए । उनले कानुन कार्यान्वयन नहुँदा समाजमा अन्यौलता सृजना भएको धारणा राखे । 

नेपाल बार एशोसियसन चितवनका सचिव विनोद मिश्रले संविधान कार्यान्वयनको अवस्था ९९ प्रतिशत फितलो रहेको जिकिर गरे । ‘विधिको शासन अगाडि बढाउने काम कानुन विज्ञहरुले गर्ने गर्दछन । तर, यहाँ उनीहरु राजनीतिक दलको इशारामा कानुनको व्याख्या गर्ने गर्दछन्’ उनले भने, ‘न्यायपालिका तहसनहसन भएको अवस्था छ ।’ उनले राज्यका संयन्त्र विधिसंम्वत अगाडि नबढेसम्म जनताले संविधान आएको महशुस नगर्ने बताए । 

अधिवक्ता उद्धव लोहनीले संविधान ल्याएका दलहरुबाट नै संविधान धरापमा रहेको बताए । ‘कांग्रेस, एमाले र माआवादी बाट संविधान खतरा छ,’ राजनीतिक पार्टीको क्रियाकलाप प्रति असन्तुष्टी पोख्दै लोहनीले भने, ‘राजनीतिक पाटीले संविधानका खिल्लि उडाएका छन् ।’ उनले राजनीतिक दलका कार्यकताले आफ्ना नेताले गरेका गलत कामको भण्डाफोर गर्न नसकेको बताउनुभयो । अधिवक्ता कल्पना उप्रेतीले संविधानले जारी गरेका विषयहरु पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताए । ‘पछाडि परेका वर्गका लागि संविधानले समेटेको छ । आमाको नामबाट नागरिकता बनाउन सकिने विषय समेटिएको छ,’ उनले भने ‘कार्यान्वयन हुन सकेको छैन।’

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले औद्योगिक विकासलाई संविधानले समेटन नसकेको बताए । ‘राजनीतिक दलले आफु अनुकुल संविधान बताए । हरेक क्षेत्रमा राजनीति छिराए । तर औद्योगिक विकासका लागि कालो ऐन बनाए,’ उनले भने, ‘आर्थिक क्षेत्रको कार्यान्वयनको विषय चुनौती बनेको छ।’ युवा उद्यमी निरञ्जन न्यौपानेले ढुक्क साथ व्यवसाय गर्ने वातारण नभएको बताउनुभएको छ । उहाँल संविधान निर्माण गर्ने समयमा सपना देखाएपनि सरकारले रोजगारी सृजना गर्न नसकेको बताए। 

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले संविधानले निर्देशित गरेभन्दा पनि फरक ढंगले सरकारले मिडियालाई नियन्त्रणमा राख्ने गरि कानुन ल्याउन लागेको बताए । कानुन बनाउँदा सरकारले बल मिच्याइँ गर्ने काम गरेको छ । मिडिया विधेयक प्रेस स्वतन्त्रा विरुद्ध छ उनले भने, ‘संविधानले निर्दिष्ट गरेभन्दा फरक ढंगबाट ल्याईएको छ ।’ उनले संविधान कार्यान्वयनका विषयमा तल्लो तहका नेताले केन्द्रीय स्तरका नेताहरुलाई घचघच्याउनुपर्ने धारणा राख्नुभयो । संविधान कार्यान्वयनको वातावरण बनाउनुपर्ने बताए । 

बुद्धिजीव तथा शिक्षाविद् प्रेम रिमालले हरेक क्षेत्रमा राजनीतिककरण हुँदा विकृती बढ्दै गएको बताए । उनले विधि पद्धती उलङ्घन गर्ने काम ठुला नेताबाट नै हुने गरेको जिकिर गरे । संविधानबाट उपब्धि भएका बिषयलाई संरक्षण गर्नका लागि आगामी निर्वाचनमा जनताले विशेष ख्याल गर्नुपर्ने धारणा राखे । जनआन्दोलनका घाइते सुर्यप्रसाद श्रेष्ठले नेपाली जनतालाई लाद्ने काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस