इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन

रासस

सोमबार, ०३ असोज २०७९, १६ : २९
इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन

गलकोट । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाएका थिए । 

उनले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाएका स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी र माओवादी द्वन्द्वका कारण जुमबहादुरको परिवार बुटवलमा स¥यो । दश वर्षअघि उनले लगाए स्याउका बिरुवा मासिए, नेपाल प्रहरीको जागिरे रहेका जुमबहादुरले २०५८ सालमा अवकाशपछि थालनी गरेको स्याउखेतीप्रतिको रुचि उनमा अझै घटेको थिएन । स्याउखेतीका विषयमा जागिरे जीवनमै विभिन्न स्थानमा सेवा गर्दा थाहा पाइसकेका जुमबहादुरले जनआन्दोलनपछि परम्परागतरुपमै स्याउखेती थालेका थिए । 

स्याउ राम्रो उत्पादन हुन नसक्दा उनकोे मात्रै हैन निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए । ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन्  तर जुमबहादुरले आफ्नो व्यक्तिगतरुपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने तयारी गरे । 

पन्ध्र रोपनी जग्गामध्ये आठ रोपनी जग्गामा स्याउखेतीका लागि तयारी अवस्थामा राखिएको  छ । पाँच रोपनी जग्गामा नयाँ दुई सय २० बिरुवा र पुराना ५० वटा स्याउका बिरुवा छन् । कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात्का कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाए पनि कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएका आधुनिक प्रजातिको स्याउका बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो । परीक्षणका लागि लगाएको स्याउखेती एक वर्षमै सफल बनेको पाइएको छ । सानो बोटमा धेरै स्याउ फल्नेगरी विकास गरिएको इटालियन प्रजातिको स्याउले एकै वर्षदेखि  उत्पादन दिन थालेपछि ढोरपाटन क्षेत्रको हावापानीमा उक्त स्याउको परीक्षण सफल भएको ढोरपाटन स्याउ ब्लकका अध्यक्षसमेत रहेका जुमबहादुरले बताए ।
 
“मैले स्याउखेती गर्न थालेको धेरै भयो, परम्परागत स्याउ फस्टाउन सकेन तर एक वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको बिरुवामा स्याउ फलेको छ, अहिले एक सय २० बिरुवा लगाइसकेको छु, एक वर्षअघि लगाइएका सय बोटमध्ये २१ बोटमा स्याउ फलेको छ”, जुमबहादुरले भने, “यहाँका किसानले परम्परागत तरिकाले लगाएका स्याउको उत्पादन हावापानीअनुसार राम्रो उत्पादन नहँुदा समस्या थियो, अहिले उक्त नयाँ प्रजातिको स्याउका बिरुवा अनुदानमा प्राप्त गरेकामा एक वर्षमै स्याउ फल्दा दङ्ग परेका छन् ।”

बागलुङको ढोरपाटन क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौं भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ । ढोरपाटन उपत्यकाका सेन्तुङ, श्यालपाखे र निशेलढोर, मसलगायत स्थानमा परम्परादेखि नै फाट्टफुट्ट स्याउखेती हुने गरेपनि त्यसले व्यावसायिकता पाउन सकेको थिएन ।

आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ मा ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ लाई मसेटेर ढोरपाटन स्याउ ब्लक कार्यक्रमसमेत चलाइ यहाँका किसानलाई स्याउखेतीप्रति जागरुक बनाइएको थियो । ढोरपाटन क्षेत्रमा उक्त इटालियन प्रजातिका एक हजार एक सय १५ बिरुवा किसानलाई वितरण गरिकामा एक वर्षमै उत्पादन दिन सुरु गरेपछि किसान खुसी भएका छन् । 

ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले  एक सय ८१ वटा बिरुवामध्ये  केही बिरुवामा एक वर्षमै स्याउ फल्न थालेको बताए । 

    

प्रतिक्रिया दिनुहोस