काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्त्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन्।
आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवं विशिष्ट पहिचान भएको पर्व हो।
उनले शुभकामना सन्देशमार्फत् हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गरेका छन्। साथै उनले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्नमा टेवा पुर्याएको बताए।
यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने हुनाले यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ। महिलाहरू पानी समेत नखाई २४ घण्टासम्म भगवान जीतमहान गोसाईँको पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ। थारु समुदायमा झ्याम्टा नाचका साथ जितिया पर्व मनाइन्छ।
प्रधानमन्त्री देउवाले आमा र सन्ततिबीचको माया, प्रेम, समर्पण र वात्सल्य प्रगाढ बनाउन यो पर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै पर्व मनाउने सबैलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन्।
यस पर्वले आमा र सन्ततिबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई थप प्रगाढ र सुदृढ पार्न प्रेरणा प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असोज २०७९, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेका ५ बुँदे माग
जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् ताकाइची
प्रधानमन्त्रीसँगको छलफलमा दलहरूबाट को-को सहभागी हुँदैछन् ?
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्दै
निर्वाचन तयारी : आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री
निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेका छौँ : प्रधानमन्त्री