विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षे कार्यकाल राम्रो भएन : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

शुक्रबार, ३१ भदौ २०७९, १९ : ४८
विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षे कार्यकाल राम्रो भएन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षे कार्यकाल राम्रो नभएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसदको पाँच वर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरुप नभएको बताएका हुन् ।

उनले केही नेताहरुको चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ गएको बताए । । अध्यक्ष नेपालले राष्ट्रको विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षको कार्यकाल राम्रो नभएको बताए । उनले देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडी नबढ्नुले आफू चिन्तित रहेको पनि बताए ।

यथास्थितिमा देशलाई अगाडी बढाउन नसकिने भन्दै अध्यक्ष नेपालले विचार र कार्यशैलीमा रुपान्तरणको आवश्यकता रहेको बताए । उनले भने, ‘राष्ट्रको विकासको हिसावले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै पुअर । अत्यन्तै नराम्रो भन्न सकिन्छ । राज्य सञ्चालनको तरिकासँग म सहमत छैन । राज्यमा जुन ढंगले सुशासनको मान्यतालाई अवलम्वन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेको कुराले म अत्यन्तै चिन्तित छु ।’

प्रतिक्रिया दिनुहोस