राष्ट्रिय सभा बैठकः शून्य समयमा के भने सांसदहरुले ?

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १३ : २०
राष्ट्रिय सभा बैठकः शून्य समयमा के भने सांसदहरुले ?

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् । आज बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे। उनले मिटरब्याजीहरुबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्ति समेत जनाए ।

एमालेका अर्का सांसद भट्टराईले डेंगु रोगको उपचारका लागि सिटामोलको समेत अभाव भएको भन्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘अहिले औषधि सिटामोल समेत प्राप्त नगरेको कुरा आएको छ । यो देशव्यापी भइसकेको छ ।’

सांसद भट्टराईले सरकारले जनताको स्वास्थ्य सुरक्षामा आवश्यक ध्यान दिन नसकेको आरोप समेत लगाए। नेकपा (माओवादी केन्द्र) का सांसद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले बाढि र पहिरोबाट पीडित जनताका लागि तत्काल उद्धार र राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

सांसद शर्माले भने, ‘यो देशमा कोरोनासँगै डेंगु रोग भयावहस्थिति सृजना भएको छ । र, औषधि उपचारको निम्ति समस्या छ भन्ने समाचार आईरहेको छ । यो व्यापक रुपमा फैलिँदै गएको र त्यसको बारेमा सरकारले विशेष ध्यान दिनु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस