आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउँछौँ : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, २१ : ३३
आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउँछौँ : अध्यक्ष नेपाल

चन्द्रौटा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए ।

गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे । उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए ।

मुस्लिम इत्तेहाद सङ्गठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई सङ्गठन बलियो बनाउन उनले आग्रह गरे ।पार्टीका सबै सङ्गठनलाई मजबुत बनाउने दायित्व सबै नेता कार्यकर्ताको रहेकाले गाउँगाउँमा सङ्गठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिए । उनले गरीब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आगामी निर्वाचनमा अत्यधिक मत पाउनेगरी काम गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रनुभएका नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताए । छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै उनले स्थानीय सरकार प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताए । उनले मधेस प्रदेशले बेटी बचाउ, बेटी पढाउ अभियान सञ्चालन गरी छोरीलाई शिक्षाको पहुँचमा पु¥याउने प्रयास गरेको बताए । उनले मदरसालाई व्यवस्थित गराइ सरकारी स्वामित्वमा ल्याउन र हज कमिटी गठनमा आफूले प्रयास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस