कर्मचारीको सहयोगबिना देश अघि बढ्न सक्दैन : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, १४ : ४२
कर्मचारीको सहयोगबिना देश अघि बढ्न सक्दैन : प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुरले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन्। बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार अस्थायी भएकाे भन्दै कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका हुन्।

देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको भन्दै प्रधानमन्त्री देउवाले कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए।

‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन, सत्य कुरा हो। अस्थायी सरकार हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ। यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो? राजनीतिक दलहरू मात्रै हो कि ब्यूरोकेसी पनि हो? किन काम भइरहेको छैन अहिले यहाँ? व्यापक छलफल गरौँ’, उनले भने, ‘ हामी त ५ वर्षका लागि आउने हो। तपाईंहरू त पेन्सनसम्म हुनुहुन्छ नि। काम नै भएको छैन, दुर्गति छ, देशको। यसको व्यापक छलफल हुन जरुरी छ।’

विकासका हरेक काममा बजेट सरकारले विनियाेजन गर्ने भएपनि काम गर्ने कर्मचारी भएकाे हुँदा विकासका काममा सरकारकाेभन्दा बढी जिम्मेवारी र भूमिका कर्मचारीकाे हुने उनकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस