सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, १७ : ३४
सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक (२०२३–२०३३) घोषणा गर्ने तयारी गरेको बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ लाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’को रूपमा मनाउन आवश्यक तयारी अगाडि बढाएको बताए ।

पर्यटक आगमन बढाउन तथा पर्यटन उद्योगको विकासका लागि भ्रमण दशकको अवधारणा ल्याइएको मन्त्री श्रेष्ठको भनाइ छ । पर्यटन क्षेत्रको दिगो विकासका लागि भ्रमण वर्षभन्दा भ्रमण दशक आवश्यक भएकोले भ्रमण दशक कार्यक्रमलाई अघि सारिएको मन्त्री श्रेष्ठले बताए । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आफुले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना अघि सारेको उनले बताए ।

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गुणस्तरीय सिपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए । न्याथमले गुणस्तरीय सेवा प्रदान गरी सरकारी शैक्षिक संस्थाका रुपमा नमूना प्रस्तुत गरेको मन्त्री श्रेष्ठले बताए । पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताउँदै उनले पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी शिक्षालाई स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।

होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्वन्धी शिक्षा र तालीम प्रदान गर्ने एक मात्र सरकारी निकायका रुपमा रहेको प्रतिष्ठानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको व्यवस्था गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस