सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको छ : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, १५ : ५१
सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भएपनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे ।

पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको उल्लेख गरे । अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

त्यसका लागि पार्टीको हैसियत र सामथ्र्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

उनले भने, ‘अब हामीेले चुनावमा लाग्नुछ । चुनावका लागि नै संगठन बनाउनु छ । संगठन परिचालन गर्नुपर्नेछ । अव काठमाडौं र सदरमुकाममा बस्ने होइन । अव बस्तीबस्तीमा जाने हो । त्यसका निम्ति को उठ्यो ? ठूलो कुरा होइन । हाम्रो पार्टीका कलम चिन्हका उम्मेदवार उठे, उठेनन् ? हामीले समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौं । त्यसको निम्ति हामीेले प्रत्यक्ष निर्वाचन मात्रै होइन । समानुपातिक निर्वाचन पनि सँगसँगै हुने भएको हुनाले समानुपातिकको मतमा प्रतिनिधिसभामा पनि कलम छाप, प्रदेशसभामा पनि कलम छाप ।’

उनले फेरि भने, ‘अनि प्रत्यक्षतर्फ उठेका हाम्रा उम्मेदवारलाई पनि हामीले कलम छापमा भोट खसाल्ने हो । र, चुनावमा विजयी बनाउने हो । अहिले हामीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न ग¥र्यौं । त्यसमा सवाँ नौं लाख जनताको समर्थन पनि हासिल ग¥यौं । अहिले हामी विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छांैं । यो तालमेल गर्दै अघि बढदै जाने क्रममा नै हामी सिटको बाँडफाँड गर्न चाहिरहेका छौं । त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ ।’

प्रतिक्रिया दिनुहोस