असोजदेखि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १८ : ०२
असोजदेखि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था

काठमाडौं । आगामी असोजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा ७० अंक आए पास हुने भएको छ । १ असोज २०७९ देखि सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका २०७७ लागू गर्ने तयारी गरिएको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमतीका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए । 

‘असोज १ गतेदेखि लागू गर्नेगरी तयारी गरिरहेका छौँ । त्यसपछि काठमाडौंका चारवटा र एउटा हेटौँडा गरी पाँचवटै यातायात व्यवस्था कार्यालयमा निर्देशिका लागू हुन्छ,’ उनले भने ।

यातायात व्यवस्था विभागले चैत २०७७ मै निर्देशिका जारी गरे पनि तयारी नपुगेको भन्दै बागमती प्रदेशले निर्देशिका लागू गरेको थिएन । निर्देशिका जारी भएको डेढ वर्षपछि २३ साउन २०७९ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्देशिका लागू गर्न पहल कदम चालेका थिए । 

उनले सातै प्रदेशका यातायातमन्त्रीहरूलाई निर्देशिका लागू गर्न सहमत गराएका थिए । अव्यावहारिक प्रयोगात्मक परीक्षाका कारण सेवाग्राही सानो गल्तीमा पनि फेल भई विचौलियाको चङ्गुलमा फस्ने भन्दै यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक नमराज घिमिरेले निर्देशिका संशोधन गर्न पहल गरेका थिए । 

कसरी दिइन्छ अंक ?

सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशोधित) अनुसार परीक्षार्थीहरू सानो गल्तीमा फेल हुने छैनन् । परीक्षार्थीले लिखित परीक्षामा १०० पूर्णाङ्क ६० अंक ल्याउनुपर्छ भने प्रयोगात्मक परीक्षा (ट्रायल)लाई सातवटा चरणमा छुट्याइएको छ । यी सात चरण कटाउँदा परीक्षार्थीले ७० अंक ल्याउनुपर्नेछ ।

ट्रायलमा कसरी हुन्छ पास/फेल ?

ए र के वर्ग (मोटरसाइकल र स्कुटर)को हकमा पहिलो चरणको घुमाउरो ८ को अंकभार २० कायम गरिएको छ । एकपटक अंकित रेखा छोएमा ५ र एकपटक खुट्टाले भुईंमा टेकेमा ५ अंक काटिनेछ । त्यस्तै, एकपटकभन्दा धेरै अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरै खुट्टाले भुईंमा टेकेमा, ठीक दिशा वा ठीक तरिकाबाट ८ नघुमाएमा र सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने परीक्षार्थीलाई अनुत्तीर्ण घोषणा गरिनेछ ।

दोस्रो चरणको साँघुरो फलेकको अंकभार १० कायम गरिएको छ । यो चरणमा खुट्टाले भुईंमा टेकेमा र फलेकको लम्बाइ पार गर्नुअगावै सवारी फलेकबाहिर निस्केमा परीक्षार्थीलाई अनुत्तीर्ण घोषणा गरिनेछ ।

त्यस्तै, तेस्रो चरणको यू–टर्नको अंकभार १० कायम गरिएको छ । यसमा इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण घोषणा गरिनेछ ।

चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ छ । संकेत पालना नगरे १५ नम्बर घटाइनेछ भने फेल भने हुने छैन । त्यसैगरी, पाचौँ चरणमा रहेको बम्पसको अंकभार १५ छ । यसमा एकपटकसम्म खुट्टाले भुईंमा टेकेमा ५ र एकपटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ । त्यस्तै, एकपटकभन्दा धेरै खुट्टाले भुईंमा टेकेमा र एकपटकभन्दा धेरै स्टार्ट बन्द भएमा अनुत्तीर्ण घोषणा गरिनेछ ।

छैटौँ चरणमा रहेको र्‍याम्प (उकालो/ओरालो) को अंकभार २० छ । यसमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि र पछाडिको टायर ६ इन्चभन्दा धेरै सरेमा, उकालो पार गरी ओरालो झर्ने क्रममा रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अघि बढेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा परीक्षार्थी फेल हुनेछ ।

त्यस्तै, अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्याङ्कनका लागि अंकभार १० कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूमा सामान्य निरीक्षण नगरे ३, हेल्मेटको लक नलगाई सवारी चलाए ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाए ३ नम्बर काटिनेछ ।

बी क्याटगोरी (कार, जिप भ्यान) का लागि पनि सातवटा चरण बनाएको छ । पहिलो चरणको घुमाउरो ८ को अंकभार २० छ । यसमा दुई पटकसम्म अंकित रेखा छोएमा ५/५ अंक काटिनेछ ।

त्यस्तै, एक पटकभन्दा धेरै अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशा वा ठीक तरिकाबाट ८ नघुमाएमा, अगाडि बढ्ने क्रममा सवारीलाई पछाडि सारेमा भने परीक्षार्थीलाई अनुत्तीर्ण गरिनेछ ।

त्यसैगरी, दोस्रो चरणको उबडखाबडको अंकभार १० कायम गरिएको छ । यसमा एकपटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ भने एकपटकभन्दा धेरै स्टार्ट बन्द भएका परीक्षार्थीलाई फेल गरिनेछ ।

तेस्रो चरणमा यू–टर्नको अंकभार १० छ । यसमा ट्रेनिङ इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण गरिनेछ । त्यस्तै, चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ कायम गरिएको छ । संकेत पालना नगरे १५ नम्बर घटाइए पनि फेल भने नगरिने बताइएको छ ।

पाचौँ चरणमा रहेको र्‍याम्प (उकालो/ओरालो) को अंकभार १५ छ । यसमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि र पछाडिको टायर ६ इन्चभन्दा धेरै सरेमा, उकालो पार गरी ओरालो झर्ने क्रममा रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अघि बढेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा परीक्षार्थी फेल हुनेछ ।

छैटौँ चरणमा रहेको ग्यारेज पार्किङको अंकभार २० छ । यसमा सवारीलाई पछाडि गुडाउने क्रममा एकपटकसम्म अगाडि सरेमा १० नम्बर काटिनेछ भने पछाडि गुडाउने क्रममा एकपटकभन्दा धेरै अगाडि सरेमा र अंकित रेखा छोएमा परीक्षार्थी फेल हुनेछ ।

त्यसैगरी, सातौँ र अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्याङ्कनका लागि अंकभार १० कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूका सामान्य निरीक्षण नगरे, सिटबेल्ट नलगाई चलाएमा ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ नम्बर काटिनेछ ।

प्रतिक्रिया दिनुहोस