काठमाडाैं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धेरै आम्दानी हुने र पैसा पाइहाल्ने काममा मात्रै सरकारले सोच्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन्। शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गाडीमा भन्सार लिनुलाई सरकारले आम्दानी देखिरहेको बताउँदै यस्तो चर्चा गरेका हुन्।
उनले भविष्य सोचेर सरकारले पेट्रोल र डिजेल किन्न विदेशिएको लाखौँ रुपैयाँ रोक्न सक्नुपर्ने बताए। सरकारले देशबाट डिजेल र पेट्रोलमा विदेशिएको रकम रोक्न पूर्ण विद्युतीय सवारीसाधनमा जोड दिनुपर्ने बताए।
नेपालबाट विदेशिने अर्बौं रुपैयाँ रोक्नसके अर्थतन्त्रमा अपेक्षाकृत सुधार हुने विश्वास व्यक्त गरे। सरकारले विद्युतीय सामग्रीको प्रयोगमा जोड दिएर डिजेल, पेट्रोलबाट चल्ने सामग्री विस्थापित गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘जोर बिजोर हुँदा धेरै गाह्रो थियो, नेपाल बन्द हुँदा। दुईवटा गाडी त थियो तर जोर नै परेछन् दुवै। एकपटक बिजोर गाडी किन्नुपर्छ भनेर गयौँ। डिपोमा जाँदा विद्युतीय गाडी आएको रहेछ। ब्राण्ड एम्बास्डर बस्नु न भन्नुभयो । किनेपछि त्यो गाडी चढ्दा बडो मजा आयो। अरू वेला त्यहाँसम्म पुर्याइदिनु न भन्दा पनि पेट्रोल खर्च हुन्छ भनेर मनले मान्दैनथ्यो। देशले निर्यात गरेर कमाउने कुनै पनि स्रोत नदेख्दा सन्ततिले के गर्लान् भन्ने चिन्ता लागेको बताए। देशभर नै विद्युतीय गाडी सञ्चालन गर्ने नियम बनोस् भन्ने आफ्नो चाहना रहेको पनि बताए।
‘बिजुली गाडीमा त पैसा खर्च नहुने जहाँ लगे पनि हुन्छ भन्ने स्थिति बन्यो। पेट्रोलपम्पमा भीड देख्दा पनि केही न केही लाग्थ्यो आफूलाई। देशभर विद्युतीय गाडी चले कति राम्रो हुन्थ्यो भन्ने लाग्छ। पेट्रोल, डिजेलका कारण हाम्रो डलर धेरै बाहिर बगिरहेको देख्न सकिन्छ। भविष्य देखेर नरमाइलो लाग्छ। सन्ततिले कसरी जीवन बिताउलान् भनेर चिन्ता लाग्छ। देशमा कुनै पनि स्रोत नभएको देख्दा चिन्ता लाग्छ’‚ उनले भने, ‘आम्दानी हुने र पैसा पाइहाल्ने भन्नेतिर मात्रै सरकारको सोच देखिन्छ। सरकारले भविष्य सोचोस्। इलेक्ट्रिकमा डाइभर्ट गरोस्। विद्युतीय चुलोमा खाना पाकोस्।’
देशभर विद्युतीय गाडी सञ्चालन गर्नसके देशले थोरै भए पनि प्रगति गरेको छ भन्नसक्ने अवस्था रहने भन्दै पूर्ण विद्युतीय सवारीसाधनमा जोड दिन सरकारको ध्यानाकर्षण गराए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, १६ : ३९
लेखकबाट थप