एसिया कप : पाकिस्तान सेमी फाईनल, हङकङ ३८ रनमै अलआउट

सफल खबर संवाददाता

शनिबार, १८ भदौ २०७९, ०७ : ५५
एसिया कप : पाकिस्तान सेमी फाईनल, हङकङ ३८ रनमै अलआउट

काठमाडौँ । पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले सुपर चारमा स्थान पक्का गरेको हो । 

जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङ १०.४ ओभरमा ३८ रनमा अल आउट हुन पुग्यो । हङकङका कुनै पनि खेलाडीले दोहोरो रन छुन सकेनन् । हङकङका कप्तान निजाकत खानले सर्वाधिक ८ रन तथा किन्चित शाहले ६ रन बनाए । 

 हङकङलाई सस्तैमा समेट्न पाकिस्तानका स्पिनर शादब खानले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, मोहम्मद नवाजले ३ विकेट तथा नसिम शाहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवान सर्वाधिक ७८ रनमा अविजित रहे । त्यस्तै, फकर जमानले ५३ रनको अर्धशतकीय इनिङ खेले भने खुल्सदिन शाहले अविजित ३५ रन तथा कप्तान बाबर अजामले ९ रन जोडे ।

हङकङका एहसान खानले २ विकेट लिए । समूह ए बाट भारत दुबै खेलमा जितका साथ सुपर फोरमा स्थान बनाइसकेको छ । पाकिस्तान दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान बनायो ।