राष्ट्रिय आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयको ४० लाख अनुदान

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १४ : ५२
राष्ट्रिय आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयको ४० लाख अनुदान

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई ४० लाख रुपैयाँ अनुदान दिने भएको छ । मन्त्रालयले लघु, घरेलु तथा साना उद्यमलाई चाहिने मेसिनरी अनुसन्धान र विकास गर्नका लागि केन्द्रलाई उक्त अनुदान दिन लागेको हो ।

आज मन्त्रालयमा आयोजित कार्यक्रमका बीच लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन बोर्ड र केन्द्रका सञ्चालक पुनले समझदारी पत्रमा हस्ताक्षर गरे । उद्योग प्रबद्र्धन केन्द्रका निमित्त कार्यकारी अधिकृत विष्णुप्रसाद भुसाल र आविस्कार केन्द्रका अध्यक्ष डा.पुनले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा उपस्थित मन्त्री बडूले सरकारको लक्ष्य नै साना तथा घरेलु र लघु उद्यमको विकास गर्नु भएको बताए । उनले सरकारको यो लक्ष्यमा आविष्कार केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने भएकाले अनुदान बापत ४० लाख रुपैयाँ दिएको समेत बताए ।

कार्यक्रममा बोल्दै डा. पुनले आविष्कार केन्द्रको मूख्य लक्ष्य नै उद्यमी जन्माउनुभएको बताए । उनले साना उद्यमी जन्माउने केन्द्रको लक्ष्य बमोजिम नै मन्त्रालयबाट पाएको अनुदानको रकम खर्च गर्ने समेत बताए । ‘यो रकम सिन्के धुप बनाउने मेसिन र बाँसको सिन्का बनाउने मेसिन निर्माणमा खर्च गरिने छ,’ पुनले भने ।

यसैगरी, गाउँघरबाट कोदो प्रशोधन गर्ने मेसिनको समेत माग भइरहेकाले त्यसतर्फ पनि बजेट खर्च गर्न सकिने पुनको भनाइ थियो । केन्द्रले नेपालमा उपयोगी हुने खालका साना–साना मेसिनरी निर्माण गर्दै उद्यमीहरूलाई उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस