काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम सतप्रतिशत सदुपयोग गर्न निर्देशन दिएका छन ।
विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा शुक्रबार गृहमन्त्री खाँणले सरकारले विपद जोखिम न्युनिकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशिल हुन जरुरी रहेको बताए । उनले विपद जोखिम न्युनिकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानून अनुसार कोषको रकम खर्च गर्नुपर्ने बताए ।
उहाँले विपद व्यवस्थापन कोषमा भएको रकम विपदको समयमा नै सदुपयोग हुनुपर्ने उल्लेख गरे। मन्त्री खाँणले प्राधिकरणको कार्यकारी समितिले गरेका सबै निर्णयहरु गम्भीरतापूर्वक कार्यान्वयन गर्ने पनि निर्देशन दिए। गृहमन्त्री खाँणले यस वर्ष पनि वर्षाको कारण देशका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो क्षति भएको बताए ।
उनले विपद प्राधिकरणलाई सरकारले प्रदान गरेको कोष भएपनि स्थानीय तह र स्थलगत रुपमा विपद व्यवस्थापनको लागि त्यो खालको प्राविधिक जनशक्ति व्यवस्थापन नभएको बताए। विपद व्यवस्थापनको लागि स्थानीय गाउँपालिकाहरुलाई नै जिम्मा दिएर सक्रिय बनाउन आवश्यक रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, १३ : ४४
लेखकबाट थप