मकवानपुरको चार स्थानीय तहमा फैलियो डेंगु

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १३ : ४०
मकवानपुरको चार स्थानीय तहमा फैलियो डेंगु

काठमाडौं । मकवानपुरमा डेंगु रोगको संक्रमण तीव्र गतिमा फैलिँदै गइरहेको छ । १० स्थानीय तह रहेको मकवानपुरमा अहिलेसम्म चार स्थानीय तहमा डेंगुको संक्रमण फैलिएको हो ।

हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा धेरै ५ सय ४८ जनामा डेंगु संक्रमण भएको छ । त्यस्तै, थाहा नगरपालिकामा एक, मकवानपुरगढी गाउँपालिकामा चार र मनहरी गाउँपालिमा पाँच जनामा डेंगु भेटिएको छ । बाँकी ६ स्थानीय निकायमा भने डेंगुका बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

जिल्लामा चालू आर्थिक वर्षको १ साउनदेखि अहिलेसम्म ५ सय ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।‘अन्य स्थानीय तहमा भन्दा हेटौंडा उपमहानगरपालिकामा नै व्यापक डेंगु फैलिएको पाइएको छ । हेटौंडाको पनि ४ र ५ नम्बर वडामा धेरै बिरामी भेटिएका छन्,’ घिमिरेले भने, ‘यो आर्थिक वर्षको हालसम्म ४ मा २ सय २६ जना डेंगु संक्रमित भएको तथ्यांक छ भने ५ नम्बर वडामा ७५ जनामा संक्रमण भएको छ । अन्य वडाहरूमा पनि बिरामी भेटिएका त छन् । तर, अन्यको तुलनामा हेटौंडाको ४ नम्बर वडामा डेंगु नियन्त्रण बाहिर नै गएको छ ।’  

प्रतिक्रिया दिनुहोस