डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, ०८ : ०३
डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाका विभिन्न वडामा डेङ्गु सङ्क्रमण बढ्दै गए पछि घरदैलो अभियान थाल्ने तयारी छ ।  

हेटौँडा–४, ५, १० र ११ मा केही सातादेखि फैलिएको डेङ्गु सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ती चारवटै वडामा बिहीबार अपराह्नसम्म पाँच सय ३५ जनामा डेङ्गु फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मनहरि गाउँपालिका–२, ४, ५ र ६ मा ९५ डेङ्गुका बिरामी फेला परेको कार्यालयले जनाएको छ । 

मकवानपुरमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका क्षेत्रमा करिब तीन सातादेखि फैलिएको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न विधि अपनाएको भए पनि अझै नियन्त्रणमा आउन नसकिएकाले भदौ १९ देखि हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडा र मनहरिका विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालयले घरदैलो अभियान सञ्चालन गर्न लागेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले बताए । 

हेटौँडा र मनहरिका विभिन्न वडामा डेङ्गुबाट प्रभावितलाई तत्काल उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा काठमाडौँको वीर अस्पताल, पाटन अस्पताल र त्रिभुवन शिक्षण अस्पताल उपचारका लागि पठाइएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलिप्रसाद चौलागाईंले जानकारी दिए ।

डेङ्गुबाट सामान्य प्रभावितलाई हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र चितवनको भरतपुर अस्पताल भर्ना गरी उपचार थालिएको छ । डेङ्गुको पहिचान गर्न किट पर्याप्त मात्रा नहुँदा उपलब्ध गराइदिन हेटौँडा उपमहानगरपालिकाले सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष माग गरेको चौलागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस