एसिया कपः श्रीलंका र बंगलादेश ‘गर या मर’को अवस्थामा भिड्दै

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, १५ : ०३
एसिया कपः श्रीलंका र बंगलादेश ‘गर या मर’को अवस्थामा भिड्दै

काठमाडौँ । श्रीलंका र बंगलादेशबीच एसिया कपको पाँचौँ खेलमा बिहीबार एकअर्काविरुद्व प्रतिस्पर्धा हुँदैछ। एसिया कपमा रहिरहनका लागि दुबै टिमलाई जित जरुरी छ। जित्ने टिमले सेमिफाइनलमा उपविजेताका रुपमा स्थान बनाउँदा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ।

श्रीलंका र बंगलादेश दुबै आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएका थिए। त्यसैले दुबै टिमका लागि बिहीबार ७ः४५ मा हुने खेलमा जित अत्यावश्यक रहेको छ। एसिया कपमा दुई टिमबीचको हेड टु हेडमा बंगलादेशभन्दा श्रीलंका निकै अघि रहेको छ। यी दुईबीच भएका कुल १३ खेलमा श्रीलंकाले ११ खेलमा जित हासिल गरेको छ। बंगलादेशले भने २ खेलमा मात्र जित निकालेको छ।

पछिल्लो दशकमा एसिया कपमा यी दुई टिमबीच तीन पटक प्रतिस्पर्धा हुँदा २ खेलमा बंगलादेश र १ खेलमा श्रीलंका विजयी भएको छ। बंगलादेशले एसिया कप २०१२ र २०१६ मा श्रीलंकालाई पराजित गर्दा २०१२ मा श्रीलंकालाई पराजित गर्दै बंगलादेश पहिलो पटक एसिया कपको फाइनलमा पुग्न सफल भएको थियो।

टी–२० फर्म्याटमा पनि श्रीलंका बंगलादेशभन्दा अघि रहेको छ। यी दुईबीच कुल १२ प्रतिस्पर्धा हुँदा ८ खेलमा श्रीलंका विजयी भएको छ। बंगलादेश भने ४ खेलमा मात्र विजयी भएको छ।