एजेन्सी । शोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ ।
रुसी समाचार एजेन्सीका अनुसार लामो समयदेखि बिरामी रहेका मिखाइलको निधन भएको हो ।मिखाइलले रक्तपात विना शीतयुद्धलाई अन्त्य गरेका थिए तर उनले शोभियत संघ पतन हुनबाट भने रोक्न सकेका थिएनन् ।
मिखाइल शोभियत संघमा सन् १९९०–९१ सम्म राष्ट्रपति रहेका थिए, उनी अन्तिम राष्ट्रपति हुन् । सन् १९८५ मा मिखाइल शोभियत संघको नयाँ नेता चुनिएका थिए । उनी १९८५–१९९१ सम्म शोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव थिए ।
सन् १९८८–१९८९ सम्म उनी सुप्रिम शोभियतको प्रसिडियमको अध्यक्ष रहेका थिए । १९८९–१९९० सम्म उनी सुप्रिम शोभियतको अध्यक्ष रहेका थिए । नोबेल पुरस्कार समितिले मिखाइललाई सन् १९९० मा शान्ति पुरस्कारबाट सम्मानित गरेको थियो । समितिले भनेको थियो – पछिल्ला केही वर्षमा पूर्व र पश्चिमको सम्बन्धमा नाटकीय परिवर्तन भएको छ, टकरावको ठाउँमा छलफल भएको छ ।
मिखाइलले शोभियत संघ विघटन भएकोमा दुःख व्यक्त गरेका थिए । टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट १९९१ डिसेम्बर २५ का दिन देशलाई सम्बोधन गर्दै मिखाइलले राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १५ भदौ २०७९, ०७ : ५३
लेखकबाट थप