आगामी निर्वाचनमा नेपाल प्रहरीलाई झण्डै आठ अर्ब बजेट

सफल खबर संवाददाता

मंगलबार, १४ भदौ २०७९, २० : ५२
आगामी निर्वाचनमा नेपाल प्रहरीलाई झण्डै आठ अर्ब बजेट

काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख दुई सय बजेट प्राप्त भएको छ ।

नेपाल प्रहरीका लागि रु एक अर्ब २३ करोड ५० लाख ९९ हजार २०० तथा म्यादी प्रहरीका लागि रु पाँच अर्ब, ८६ करोड, ३९ लाख ५० हजार बजेट छुट्याइएको हो । उक्त बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

उक्त निर्वाचनका लागि ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । यसपटक स्थानीय तहको निर्वाचनमा भन्दा २५ हजार बढी नेपाल प्रहरी तथा म्यादी प्रहरी थप गरिने भएको हो । जसमा १५ हजार म्यादी प्रहरी थपिने छन् ।

निर्वाचनका समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले सात दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउनेछन् । उक्त भत्ता सिपहीका हकमा प्रतिव्यक्ति प्रतिदिन रु एक हजार दुई सय हुनेछ । अन्य तहअनुसार भत्ता उपलब्ध हुने जनाइएको छ । उनीहरूले निर्वाचनको मुख्य चार दिन प्रतिदिन रु तीन सयका दरले खाजा खर्च पनि प्राप्त गर्नेछन् ।

नेपाल प्रहरीले निर्वाचन प्रयोजनार्थ कुल एक सय ८० वटा गाडी (सवारीसाधन) खरिद गर्ने भएको छ । प्रहरीले निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारीसाधन माग गरेको थियो । अर्थ मत्रालयबाट गाडी खरिदका लागि रु ७५ करोड बजेट स्वीकृत भएसँगै प्रहरीले गाडी खरिदको तयारी थालेको छ । प्रहरीले बढीमा रु ५० लाखसम्मका गाडी खरिद गर्न पाउनेछ । सोही आधारमा एक सय ८० वटा गाडी खरिद गर्न लागिएको डिआइजी थापाले जानकारी दिए ।

निर्वाचनमा कुल दुई हजार सात सय ९५ वटा गाडी परिचालन गर्ने योजना प्रहरी प्रधान कार्यालयको छ । निर्वाचनको १२ दिनका लागि एक हजार ५० गाडी भाडामा लिन स्वीकृत प्राप्त भएको छ । भाडाका लागि प्रतिदिन रु १० हजार रकम छुट्याइएको छ । बाँकी अपुग गाडी मर्मत गरेर चलाइनेछ । सबै निर्वाचन सुरक्षा योजनाअनुसार परिचालन हुने भएकाले थपघट हुनसक्ने थापाले जानकारी दिए । यसपालि प्रहरीले १० हजार लठ्ठी खरिद गर्दैछ । प्रतिलठ्ठी रु दुई सयका दरले खरिद गर्ने जनाइएको छ ।