नेपालले जित्यो केन्याविरुद्धको टी-ट्वान्टी सिरिज

एजेन्सी

मंगलबार, १४ भदौ २०७९, १९ : २८
नेपालले जित्यो केन्याविरुद्धको टी-ट्वान्टी सिरिज

काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो ।

नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाउन सक्यो ।केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । इरफान करिमले २८ रन जोड्दा कोलिन्स ओबुयाले २३ रन बनाए । कप्तान शेम एन्गोचेले अविजित ३३ रन जोड्दा नेल्सन ओधियाम्बो १३ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछाने र वसिर अहमदले समान दुई-दुई विकेट लिए । करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीको नाममा समान एक-एक विकेट रह्यो । 

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय पारी खेले । उनले ४४ बलमा ५ चौका र २ छक्काको मद्धतमा ५९ रनको योगदान गरे । उनलाई ओपनिङमा अर्का ओपनर तथा विकेटकिपर अर्जुन साउदले राम्रो साथ दिए । साउदले ४ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे । मल्ल र साउदले ६५ रनको साझेदारी गरेका थिए । 

यस्तै रोहित पौडेलले विस्फोटक ब्याटिङ गरे । उनले २५ बलमा ७ चौकाको मद्धतमा ४७ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउँदा पवन सरार्फ भने १ रनमै आउट भए । आदिल अन्सारीले ४ र विवेक यादवले २ रन जोडे । करन केसी र सोमपाल कामी शून्य रनमै अविजित रहे । 

केन्याका लागि कप्तान शेम न्गोचे, व्राज पटेल र नेहेम्याह ओधियाम्बोले समान दुई-दुई विकेट लिए । लुकास ओलुओचको नाममा एक विकेट रह्यो । 

प्रतिक्रिया दिनुहोस